Friday, September 16, 2016

अवसान


जब बचनले रेटीदा रहेछन आत्मियाताहरु
सम्बन्ध आफ्नो धरातल छोडेर सुस्तरी बाहिरिन्छ ।

चढेका बुईहरु
चिथोरेका गालाहरु
टोकिएका हातहरु
भुतालिएका कपालहरु
हेरिएका आँखाहरु
आँखै अगाडी झल्झली बल्दा
क्रोधको मधुरो तुँवालो भित्र
 हराउँदो रहेछ सम्बन्धका बिहानिहरु ।

अनि, ग्रहणको कालो रङ्गले
उज्यालो चन्द्रसूर्य रङ्गीदा  
चकमन्न अँध्यारोको पूर्णकालीन कालरात्रीमा
मैले अचेल धेरै आकृतिहरु गुमाएको छु
धेरै सिर्जनाहरु हराएको छु ।

 हो !
तिम्रा साथहरु जो सदैव आत्मीय थिए
अचेल मरेका सम्बन्धहरुको आलो लाश गन्हाउँछ त्यहाँ
म, अत्तर छर्केर पनि बाँच्ने प्रयास गर्छु
दन्ते लहर फैलाएर हाँस्ने प्रयास गर्छु

तर !
चौतर्फी रुपमा मडारिरहेको काला बादलहरुको भिडमा
अचेल म आफुलाई विवश देख्छु
किन किन चाहंदा-चाहंदै पनि
खोज्दा-खोज्दै पनि
ति मरिरहेका सम्बन्धरुपी शरीरहरुलाई
  ब्युँताउने साहस, अब म मा छैन ।।

२०७०/०५/२० सोमबार

ShareThis