Monday, February 9, 2015

सामान्य मान्छे


हो म एक सामान्य मान्छे हुँ
दिनभरी शरीरको अल्छिपना
र जीवनको थकानहरुसंगै, उँघ्दै
उराठलाग्दो दैनिकी बीच
हाँस्ने प्रयास गर्ने
फगत बाँचिरहेको
एउटा सामान्य मान्छे ।

हो म एक सामान्य मान्छे हुँ
अन्योलताको भुमरीमा
आशाका हरेक पत्रहरु चुँड्दै
भुइँमा फाल्दै
हुन्छ- हुँदैन को
एकनास रट्टान लगाइरहने
हरेक भोरमा सम्भावनाको
दियो बाल्दै
हरेक साँझ आफैले निभाउँदै
चिसो सिरानी र ओछ्यानमा
मनका ज्वारभाटाहरु फुटाउँदै
रात्रिको अन्तिम प्रहरमा निदाउने
एउटा सामान्य मान्छे ।     

हो म एक सामान्य मान्छे हुँ
केहि कोर्दै , केहि मेट्दै
पानाहरु भर्दै , च्यात्दै
हरेक शब्दमा आफुलाई
मुनामदन, रोमियोजुलियट, लैलामज्नु वा राधाकृष्ण को
आवरणमा देखेर
मुसुक्क मुस्काउने
अनि पुन: यथार्थताको
कालरात्रिहरु संग जुध्दै
एक्लोपनको चिसो हावा
फोक्सोको कुना सम्म छरेर
आफ्नै विवशता माथि हाँस्ने
एउटा सामान्य मान्छे ।

हो म एक सामान्य मान्छे हुँ
मलाई कुनै तारिफका शब्दहरुको भोक छैन
उपमाउपमेय को आवश्यकता छैन
कसैलाई रिझाउनुको सोख छैन
मेरा शब्दहरुले ठेस नपुर्याउन
म यसैमा सजग छु
माया बाँडीरहुँ यसैमा मग्न छु
त्यसैले
कृपया मलाई फरक देख्ने-देखाउने
दुस्साहस नगरियोस्
तारिफका शब्दहरु सुनाउँदै 
आकाश माथि उचाल्ने
आश नपालियोस
म कुनै कलाकारको मिठो रचना होइन
चित्रकारको मुल्यवान क्यानभास होइन
म हरेक कथा, कबिता, आलेखहरुमा अटाउने,
एक गौण पात्र हुँ
हो म एक सामान्य मान्छे हुँ ।।

२०७१/१०/२५ © बिमोचन घिमिरे


ShareThis