Friday, February 6, 2015

बुढेसकाल



भित्ताहरु सुन्दैन्न मलाई
अक्षरहरु बोल्दैनन मसंग

बिहानीको सुर्यदयसंगै
र सुर्यास्त पछिको  
त्यो अँध्यारो रातमा
बलिरहेको चन्द्रमासंगै
म पनि बल्ने प्रयास गर्दछु
तर संधै
औंसीको कालो रातले
छोपेको छ
मेरो जीवनको यो चारकुने आयतन

झ्यालबाट बग्दै हावाहरु
मलाई झक्झकाइ रहन्छन
मलाई निदाउन दिदैनन 
अनि छोडेर जान्छन अदृश्यतामा
घाम पनि आउँछ चिहाउन
मध्यदिनको संकेत दिंदै
अनि उही पुरानो चिसो निस्वास
मेरो भागमा छोडेर हराउँछ
जुन, मधुरो प्रकाशमा
सम्झनाको पुलिन्दा छोडेर जान्छ
ताराहरु हाँस्छन् अनि लुक्छन
तर सोधैन्न केहि

सायद
म र मेरा भावनाहरु बिक्न छोडे
सायद कमजोर , निरस भए
या यसमा कुनै मेकअप सेटको
लालीपाउडर घसीएन आजसम्म
चाउरिएछ क्यारे

बदलिँदो आकाशसंगै
दिनानुदिन खिया लाग्दै गरेका पाटपुर्जा
शिथिल र प्रतिक्रिया बिहिन
बांचिदैछ हरेक पल   
मुठ्ठी भरको सास
र बाचुन्जेलको आशको साथ
पारी क्षितिजको घाम जस्तै
धिपधिप बलेको दियो जस्तै
एक्स्पाइरि डेट नजिकिदै गरेको
औषधिको खाली बट्टा जस्तै !!


२०७१/१०/२३ © बिमोचन घिमिरे 

ShareThis