Thursday, October 19, 2017

यो शहरको रङ्ग-चित्र


यो शहरले, कहिलेकाहीं
अनौठो रङ्ग फेर्छ !
काँडा उमार्छ शरीरभरी,
मनमा सिरेटो पसाउँछ,
कता-कता बाट;
कस्तो कस्तो
खबर बोकेर ल्याउँछ
 यो शहर बेला-बेला रङ्ग फेर्छ ।

खोई कताको हो यो रङ्ग ?
कस्तो हो यो प्रसङ्ग ?
नसोच्छु भन्छु, सोच्न बाध्य पार्छ
भिन्न, कुना काप्चाबाट रङ्ग छ्याप्छ
मलाई यो शहर, चुप बस्न दिंदैन ।

म चित्रहरुको पोको पार्दै,
कुनै कोठाको, कुनै कुनामा फाल्दै
बामे सर्दै छु , बिस्तारै
तर चित्रहरु फेरी दौडिन्छन
आउँछन, ढाक्छन !  


मैले सोचेका बिम्बहरू ,
कल्पेका केहि कथाहरु,
आकार लिन खोज्दैछन कतै ?
कि
कतै खोज्दैछन अस्तित्व ?
म घुमिरहेछु, तिनै चित्रहरुमा
 यो शहरको रङ्ग पोतिएका चित्रहरुमा !
जो म तिर हेर्दै
मौनतामा मुस्काउँछन
म पनि फिस्स हाँसो हाँस्दै
 एक निमेष मौनतामा हराउँछु



२०७४/०७/०३ 

ShareThis