Saturday, September 3, 2016

गएकाहरु प्रति ...




एउटा छुट्टै संसार थियो
छुट्टै लहर, चहलपहल थियो
एउटा उल्लासमय माहोल बीच,
 अडिएको कयौं सुमधुर सम्बन्धहरु !

बिस्तारै ...
बढ्दै गए शाखाहरु, चुंडीदै गए हाँगाहरु
नयाँ पालुवा हुर्के, नयाँ फूल फूले
लक्ष्य, आकांक्षाहरु बदलिदै गए
एक एक गर्दै बाहिरिए सबै
आज सुनसान भयो घरका आँगनहरु
ती गल्लि, चोकहरु !

हिंड्नेहरुले बाटो भुलाए कि ?
सम्झनाहरूमा अरु नै चीज बसाए कि ?
खोई के गरे ?, हिजो वाचा गर्नेहरुले ?
संगै हिंड्ने, बोल्नेहरुले,
एक्लै छाडिन्न भन्ने हरुले ?

जाने फर्किएर आएन ...
के छ, कसो छ ? सोध्न आएन
कुर्दाकुर्दै बिते कयौं दिन-रातहरु
नेटो काट्यो जीवनले ... पारी क्षितिजसम्म,
आशा संगाल्दै !
तर अहँ, कोहि आएन !

सायद संकेत थियो ...
माहोल भत्कियो, आवश्यकता सिद्धियो
त्यो हाँसो, खुशी लुटियो
क्षेणिकताबीच नयाँ माग, बाटाहरु थपिए
पुराना आँगन, चोक मेटाइयो, भुलाइयो !

तर
ती अवशेषहरु बचाएर राखेको छ कोहि,
त्यहाँ सम्झनाहरु हुर्काएर बसेको छ कोहि !
नलागोस कसैको आँखामा भनि,
नमेटियोस बिगतका सम्झना भनि,
प्राथना र आशिर्वादको घुम्टो भित्र,
चिनारिहरुमा प्रतिबिम्ब, लुकाएर बसेको छ कोहि !

कुनै दिन आए सम्झानाहरुमा
वात्सल्यका यादहरु,
हिजोका सम्बन्धका रापहरु,
पुराना सडकका हाँसो गुन्जिए
ब्युँझिए कतै मानवताको अस्तित्व
अवश्य फर्किएर आउनु जानेहरु,
फगत
कालको मुख, ताकेर नबस्नु ।।

२०७३/०५/०२/ बिहिबार
   

  



ShareThis