Friday, December 16, 2016

बर्षदिन






 सुस्तरी-सुस्तरी ताराहरुको

स्थान फेरिएको छ

हाँस्ने-रुवाउने बिषयहरुको यहाँ

सवाल फेरिएको छ

एक्लै गन्दै बितेका दिनहरुसंगै

 आज सिङ्गो एउटा साल फेरिएको छ ।



आउने-जाने अक्षरहरुको आज

बजार फेरिएको छ

भित्तामा पोतिने रंगहरुको

रफ्तार फेरिएको छ

किन फेरियो ?

बिगतमा कोरिएका अनेकन कहानीहरु

 सोध्दा-सोध्दै आफैलाई कारण;

आज सिङ्गो एउटा साल फेरिएको छ ।



फेरियो लेखेका अनेकन शब्दहरुको अर्थ

फेरियो आउने-जाने सन्देशहरुको मार्ग

हेर्दाहेर्दै दिनहरु रात हुँदै गए

आज, आँखै अगाडी

कहिल्यै नचिताएको,

सिङ्गो एउटा साल फेरिएको छ ।



कस्तो रङ्गमञ्च?, नाटक कस्तो-कस्तो ?

सम्बन्धहरुको भिडमा, नयाँ स्वाद फेरिएको छ

जिन्दगीलाई चिनाउने आज, नाम फेरिएको छ

नहुँदा छेक्ने, लोभी तगारो

आज सिङ्गो एउटा साल फेरिएको छ ।



उही छन भित्ताहरु तर खबर फेरिएको छ

लेख्ने कलमहरुको यहाँ मसी फेरिएको छ

खाली पानाहरुमा खोज्दा-खोज्दै, हराएका अवशेषहरु

 सुटुक्क !

आज सिङ्गो एउटा साल फेरिएको छ ।



तस्विर उही छ तर मुस्कान फेरिएको छ

यात्री उही छ तर यात्रा फेरिएको छ

अनेकन उत्तरहरुको यहाँ प्रश्न फेरिएको छ

नियतिले दौडाएको कदमहरुमा रुमलिंदै

समयले थुपारेको सन्नाटामा निस्सासिंदा

अन्यौलता बीच

विगतले सिकाएको पाठ बुझ्न नभ्याउँदै

अचम्म लाग्छ !

कति छिटो 
 आज सिङ्गो एउटा साल फेरिएको छ ।।।

२०७३/०७/२२ सोमबार

No comments:

Post a Comment

ShareThis