Sunday, June 21, 2015

"शहरबासी"


कुरा आफ्नै परिवेशको आफ्नै दैनिकीको , हुनत भन्दा म शहरबासी । काठमाण्डौमा घर भएको , यत्ति सुन्दा पनि मेरा सबै साथीहरुको कान ठाडो हुन्थ्यो/हुन्छ, "ओहो काठमाण्डौ बासी ?", "अझ रैथाने ?", "मोज छ है ?", "तँलाई त दु:ख भन्ने के थाहा ?", "साला पैसा-पैसा मात्र होला तँलाई", "भाग्यमानी रहेछस यार तँ त" , "गाउँ भन्ने तँलाई के थाहा ?" संधै वा मेरो घर ठेगानाको कुरा आउने बित्तिकै मैले धेरै जसो यिनै प्रश्नहरुको सामाना गरिरहनुपर्छ आज सम्म पनि ! जब जब मेरो ठेगाना बारे मेरा धेरै मित्रहरु अबगत हुँदै जान्छन, उनीहरुले म संग संधै गर्ने कुरा भनेको पैसाको मात्र हुन्छ, सोच्थे म संधै पैसाकै तलाउमा संधै आहाल बस्छु, मेरो जीवन फरक छ ..... खोई किन सोच्छन उनीहरु त्यस्तो ? मैले आज सम्म कुनै भेउ पाउन सकेको छैन । सबैको सपनाको नगरीको रुपमा आफ्नो केहि परिचय जुटाएको यो शहर भित्र एउटा कुनामा कुनै स्थायी बसोबास हुनु सबैको लागी सायद ठुलो लाग्नु स्वाभाविक पनि होला तर यस्तो सोचाई उनीहरुमा आइराख्दा उनीहरु यो शहरको व्यापकता र यो शहरको भित्री यथार्थ बारे अबगत छैनन कि झैं लाग्छ मलाई !

शहर सबैको लागी शहर हुँदैन र शहरबासी हुनुको यो अर्थ होइन कि सबै सुबिधा, अवसर प्राप्त गर्नु उसको लागी सामन्य बालखेल जस्तै हो , पुर्ख्यौली रुपमा बसोबास गर्दै आएको ठाउँ कुनै बेला शहर हुन्छ र व्यक्ति शहरबासि कहलिन्छ तर नाममा फरकपन आउंदैमा व्यक्ति, उसको परिवार वा समग्र समाजको बिकास हुँदैन झन् शहरबासी भनेर नयाँ परिचय आफ्नो पोल्टामा पाएपछि उसले झन् थप नयाँ समस्याहरु संग जुध्नुपर्छ; महंगी , जनसंख्याको चाप , बिग्रदो वातावरणको प्रभाव, गाँस-बाँस-कपास,रोजगारी जस्ता अत्यावाश्यक कुरामा बढ्ने चाप आफ्नै ठाउँमा छ झन् उही पुरानै आर्थिक हैसियत भएकै अवस्थामा लाग्ने थप नयाँ करको मारले अझ जीवन चलाउन र धान्न मुश्किल पर्छ तर यी यस्ता समस्या कसैले पनि देख्दैन , उ सिरिफ हेर्छ शहरबासीको ट्यागको रवाफिलो आडम्बर अनि भन्छ "अरे यार तँ त शहरबासी" !!

बिहान उठ्ने बित्तिकै रित्तो गाग्री, बाल्टिनले संधै दिक्दारी पूर्ण दंगले शुभप्रभातको पेचिलो मौन बाण हान्छ वा मध्यरातमा उठेर धारो अगाडी उभिंदै फिस्स निस्किने हावा निलेर खाली भाँडा हेरेर अमिलो मन लिएर पुन: सुत्न खोज्नु पनि यो कथित शहरमा बस्ने कथित शहरबासिले भोग्ने दिनहुँ जसो समस्या हो ! खाली भाँडा लिएर लाम बस्ने काम त यो पंक्तिकारले पनि गरेको छ र बेलाबेलामा अझै पनि यो सौभाग्य प्राप्त हुन्छ । हामी पनि दैनिक गुजारा चलाउन मिहिनेत गरेर नै काम गर्छौ , बिहान देखिन बेलुका सम्म आफ्ना बिभिन्न काममा जोतिन्छौँ तर खोई किन हो भन्नेले मलाई यति सम्म भने " तिमीहरुलाई बसी बसी काम नगरी खान पुग्छ , हामी जस्तो पसिना चुहाएर काम गर्न पर्दैन " खोई कताबाट यस्तो सोच्ने फुर्सद मिल्यो मलाई थाहाछैन , यस्ता बिचार लिनेलाई के जबाफ दिने ? .. अनि "हो हो.. ठिकै भन्नु भो , भनेर फिस्स हाँस्ने अनि बाटो लाग्ने बाहेक पंक्तिकारले आज सम्म केहि अरु गर्न सकेको छैन । कहिले काहीं सम्झाउन पनि खोजिन्छ , ए बाबा कसैले गलत बुझेको छ भने सहि कुरो सुनाउन त मन लाग्छ , त्यसै पन्छिन काहाँ मन हुँदो हो तर बुझ्न खोज्न नचाहने र संधै उही कुरो नै जपेर बस्नेलाई के गर्ने ? जय होस् भन्यो बस्यो ! तर उहाँहरुलाई एउटा कुरो त भन्न मनलागी हाल्छ ... "अरे यार तँ त शहरबासी" ।

यो शहरका शहरबासी पनि अरु जस्तै आमाको पेटमा ९ महिना बस्छन अनि जन्मन्छन तर कोहि कोहि मेरा मित्रहरु भने म आकाशबाट हट्टाकट्टा भएर फुत्त झरेको झैं गर्छन , कुरै त्यस्तो गर्छन त शंका नगरी नि भएन । अब एउटा सामान्य मान्छेलाई सामान्य हिसाबमा कुरा गरे पो सामान्य ढंगमा लिन सकिन्छ कुरा गरेको सुन्दा अर्कै ग्रहबाट आएको ठान्छन कि झैं लाग्छ । हामी नि खुशी हुँदा हास्छौँ , दुख्दा रुन्छौँ , सबैमा हुने स्वाभाविक मानवीय प्रतिक्रिया सबै हुन्छ , जीउ नि हाड छाला मासु ले नै बनेको छ , अब कसमा कति किलो भन्ने जोखेर बर्गिकरण गर्ने हो भने कुरो बेग्लै हो , त्यसो गरे त कोहि नि समान हुन्नन , त्यसैले कुरो को चुरो बुझ्न अत्यन्त जरुरी छ, अब कसले बुझाइदिने ? संधै मित्रहरुलाई "तँ त शहरिया यार" भन्नैमा फुर्सद छैन उहाँहरुले कहिले बुझ्ने ??

एउटा कुरा के नि लाग्दो रहेछ भने मित्रहरुलाई कि शहरमा बसे सी गाउँले परिवेश, खेतीपाती, बनजंगल, खोलानाला, गाईबस्तु, पशुपंक्षीबारे केहि ज्ञान नै हुँदैन । हो संधै दिनैपिच्छे गाउँघरमा जस्तो मेलापात,घाँसदाउरा गर्न पर्दैन तर यसको मतलब यो होइन कि हामी यस बिषयमा पुरै अनविज्ञ हुन्छौं र यहि बिषयलाई लिएर संधै खिसिट्युरी गरिराख्न नि पर्दैन । ठेट भाषा, जीवनशैली, रहनसहन बारे त अर्कै भेग वा ठाउँको जो पनि अनबिज्ञ रहन्छ त्यसमा ठुलो कुरो रहेन नत्र यहाँ पनि गाउँ छन , अलिक केहि समय लाएर मुख्य केन्द्र भन्दा बाहिर गए यहाँ पनि गाउँले परिवेश मज्जाले भेट्टीन्छन र लगभग सबै संग यसको अनुभव छ । ठुला ठुला चट्टानी पहिरो झर्ने भिर , भन्ज्यांग देखिन दिउसै बाघ आउने बन पनि यहाँ पाइन्छन नपाइने होइन । पंक्तिकारको मावलनै यो शहर भन्दा बाहिर छ, अब गाउँले परिवेश रहनसहन, दैनिकी बारे थाहा नहुने नहोला क्यारे , मित्रगण ?? सानै भए नि करेसाबारीमा यसोउसो तराकारी उमार्ने खाने पनि नगरेको होइन गरेकै हो तर यसो भन्दा नि मित्रहरुलाई पत्यार लाग्दैन वा उहाँहरु पत्याउन नै चाहनुहुन्न कि ? के हो कुरो उहाँहरुलाई नै थाहा होला यति बिघ्न भन्दा नि उहाँहरु , मलाई भिन्न नै देख्नुहुन्छ , "अरे यार तँ त शहरबासी" भन्न छोड्नु हुन्न ।

कुरो गर्यो कुरैको दुख भन्या जस्तो हेर्नुस , कुरो र कुलोको अन्त्य सितिमिति भेट्टाउन गाह्रो हुन्छ । अब लम्ब्याउँदै गरे , प्रसंग झिक्दै गए कति लेख्ने र कति पढ्ने भन्ने कुरोको दुबिधा बढ्छ त्यसैले पंक्तिकारले धेरै सुन्ने र धेरै जसो भोगेको र देखेको कुरो मात्र यहाँ गरेको हो अरु त सबैको आ-आफ्नै अनुभव होला । खैर पढ्दै जाँदा पंक्तिकारलाई शहरबासी शब्द देखिन नै रीस हो कि भन्ने भ्रम पर्न सक्छ तर कुरो त्यसो होइन , शहरमा बस्नेलाई शहरबासी भन्दा चित्त दुख्ने कुरो त के नै हुन सक्छ र ? तर कुरो के भन्देखिन यहाँ शहरबासी , शहरिया भन्ने शब्द धेरै जसो फरक वा भिन्न देखाउन , खिसिट्युरी गर्न बढी प्रयोग भएकोले त्यस्तो प्रबृत्ति बिरुद्द लेखिएको मात्र हो ।

सबैले सोच्ने जस्तो यहाँ धनाढ्य , सुख सुविधामा बाँचेका छैनन भन्न खोजेको पनि होइन, छन् तर थोरै छन् त्यस्ता, अरु अधिकांश त सबै, सबै जस्तै छन् , अब केहिलाई हेरेर धेरैलाई एकै नजरले हेर्न त भएन नि भन्ने बुझाइ हो । सबै उही हुन् , अवसर पाए सबै एक से एक भएर अगाडी देखापर्छन ,त्यसैले लघुताभासबाट माथि उठेर यो भन्दा म नि कमजोर छैन, मैले नि अवसर पाउँछु भन्ने सोच बिकसित गर्नुपर्छ भन्ने आशय दिन पनि पंक्तिकार अनुरोध गर्छ किनभने कतै कतै लघुताभासबाट गर्सित भएर नै तँ शहरबासि म गाउँले भनेर बर्गिकरण गर्ने गरेको पनि यो पंक्तिकारले पाएको छ, त्यसैले कुरा छेडिहालें ।

अरु सब माथि भने जस्तै हो, कसैलाई इंकित गर्दै भन्दा पनि आफ्नो मनमा गुम्सिएको केहि कुरा बाहिर ल्याएको मात्रै हो , गन्हाउने सायद भएको छैन होला नै जस्तो लाग्यो , लेख्दै गर्दा आफैलाई बेलाबेला बिभिन्न कुरा सम्झेर हाँस्न मनलागेको भएर नि गन्हाएको छैन भन्ने सहास आयो अरु त पढ्ने हरेकलाइ अन्य बिचार आउन सक्छ त्यो आफ्नै ठाउँमा छ ।
कलम छोड्न त मनलागेको थिएन तर लम्भाएर नि हुने केहि होइन , पढ्दै यहाँ सम्म आउनु भएको रहेछ भने हृदय देखिन धन्यावद टकराएं अनि आशागर्छु अब उप्रान्त " अरे यार तँ त शहरबासी" सुन्न नपर्ला  ।
उही पंक्तिकार ।।

०७२/०३/०६ ©बिमोचन घिमिरे

                                                                                                                                            

No comments:

Post a Comment

ShareThis