Friday, October 3, 2014

त्यो आँगन


त्यो आँगन
जहाँ बाल्यकालको
जीवन थियो
आश्रय थियो
आज,
छिनियो
भत्काइयो
समय बदलियो
सम्राज्य बदलियो
अहंकारको महल छ त्यहाँ
आँगन होइन दलदल छ त्यहाँ !

तिर्खा लाग्यो ?
भोक लाग्यो ?
आश्रय चाहियो ?
लाग्यो न्यास्रो आफन्तको ?
त्यो आँगन छ
भरिभराउ छ
त्यहाँ के छैन ?
सबथोक छ,
अविश्वासको खाडल छ
अहंकारको परखाल छ
आहाल छ आलो रगतको;
भाइचारा रेटिएको छ
आफ्नोपनका गलाहरु काटिएको छ
बचनका तिखा छुराहरु
रोपिएका छन् छाति भरि !

बिचमा गाडिएको लिङ्गो माथि
विराजमान छ एउटा सिंहासन
जहाँ हिटलर सम्झाउने गरी
१०४ ब्यूँझाउने गरि
कोहि उभिएको छ
"हामी" होइन
"म" छ त्यहाँ
दाह्रा गाड्दै हास्छ त्यो
जग रूवाउँदै, हास्छ त्यो
तर,
त्यहीं बाट सुनिन्छ
मानव सेवाका बखानहरू
धर्मका अनेक आख्यानहरु
अचेल घण्टको ब्यापार छ
मन्त्रको संचार छ
न्याय मौन छ
तराजुमा मोलमोलाई छ
पैसा छ त्यहाँ पैसा
हरिया हरिया
खस्रा खस्रा
लठ्ठ छन सबै
कागाजी अत्तरहरुमा
लाम छ , भोज छ
आस्तिकहरुको ठुलो हल्ली खल्ली छ
आज भब्य समारोह छ,
आँगन, 
तिर्थस्थल बनेको छ !
संसार भुल्छ अस्तित्व
जग ढोग्छ सिंहासन
धिक्कार छ धिक्कार छ !!

गन्हाइरहन्छ भाइचाराको
आलो लाश
रगतका टाटाहरु छरिएका छन् 
सलबलाई रहन्छ दानबी आँखाहरु
दाउ पर्खिरहेको छ
मृग मार्न बसेको
बघिनी झैं
दाह्रा तिखार्दै 
नंग्रा तिखार्दै
झम्टनेछ एकदिन
घांटी निचोर्नेछ  
तर युग बदलिएको छ
मृग,
तयार छ , तयार छ !!

२०७१/०६/१७  © बिमोचन घिमिरे !!







No comments:

Post a Comment

ShareThis