उ आउँदै छ
अब त केहि दिनमै आइपुग्छ
पहिले जस्तो छिटो-छिटो आउँदै भने छैन
उ त बिस्तारै समय मार्दै आउँदैछ
मानौ पात्रो बाटै सदाको लागी बिलिन हुन चाहान्छ
उ आउनै चाहेको छैन जस्तो लाग्छ
तर समयको बाध्यता
उ आउनै पर्छ,बर्ष दिन पारेर ।।
अचेल उस्को मुहारमा चमक छैन
उ प्रश्नहरुका भारी पोकाहरुले थलिएको छ
"म हुने खानेको कि हुँदा खानेको ?"
यस्ता प्रश्न उस्को मनमा सल्बलाई रहेको छ
उ हरेकलाई सोध्छ
तर उत्तर उसको पोल्टामा अजै परेको छैन ।।
उसलाई शहर मनपर्दैन
उसलाई आफ्नै गाउँ मनपर्छ
शहरका ठुला सडकमा,
गाडिमा सरर गुड्नु भन्दा
गाउँका गोरेटोमा उसलाई
हिँड्न प्यारो लाग्छ,
उ शहरको कोलाहालबाट टाढा भागेर
गाउँका शान्त पाखाहरुमा दौडन चाहान्छ
बारी भरी फुलेका सयपत्री सँगै रम्दै
प्रकृतिलाई आफु निकट बोलाउन चाहान्छ,
च च हुइइ भन्दै
लिङ्गे पिङमा उड्दै जमिन छोड्न चाहान्छ
तर बिवस्ताले उसलाई यही शहरमा गुम्साइ राखेको छ ।।
उ त शहरको एक्लो पनबाट भागेर्
छोरा-छोरी,नाति-नातीनी कुरिरहेकि
बुढी आमासँग आशिर्वाद थाप्न चाहान्छ,
दाइ कुर्दै बसेकी
प्यारी बहिनीको माया मन भरी सङ्गाल्न चाहान्छ,
श्रीमानको बाटो हेर्दै बसेकी दुलहीको
आँशु पुछन चाहान्छ
र नयाँ नयाँ कोसेली बाँडेर
नाबालकहरुको अनुहारमा खुशी छर्न चाहान्छ ।।
तर रक्त पिपासुहरु अचेल उसलाई कहिँकतै जान दिँदैन्न्
उनिहरु उसलाई हुँदा खानेहरुको पोल्टाबाट खोस्दै
हुने खानेहरुको खल्तिमा बन्दी बनाउँदै छन
उ संसार थर्कमान हुने गरी कराउँछ,रुन्छ
तर उसका आवाज पनि थुनिएको छ ।।
उ सुनाउन चाहान्छ
ती बुढी आमालाई
प्यारी बहिनिलाई
नाबालक र घर स्यार्दै बसेका सारा दुलहिहरुलाई
उसले कसैलाई भुलेको छैन,
उसको मन त सँधै
त्यही पाखाहरुमा डुलिरहन्छ
सँधै रोधिहरुमा नाचिरहन्छ ।।
तर उ विवश छ
उ रोइरहन्छ
र धिक्कार्छ आफुलाई
म किन "दशैँ" भएँ ?
आफ्नै मौलिकताबाट टाढा हुनुपर्ने दशैँ !!
२०६९-०६-१३
Copyright © 2012 बिमोचन घिमिरे ।
No comments:
Post a Comment