Monday, September 17, 2012

जे देखेँ जे सोचेँ ...

"बाउ रोला भन्ने पनि छैन । आमा रोला भन्ने पनि छैन । यही सडकमा खायो,सुत्यो । साला! जिन्दगी नि अनेक खेल खेल्छ, कहिले हसाउँछ , कहिले रुवाउँछ ......"

बाटोमा हिँड्दै गर्दा यि शब्दहरुले मेर पाइला रोके । कमलादि गणेश मन्दिर अगाडिको बाटो छिटो-छिटो छिचोल्दै घर पुग्ने हतारमा थिएँ जब मैले यि शब्दहरु सुनेँ । मेरा पाइला रोक्किए र म पछडी फर्की हेरेँ । एक महिला बेसुरे तालमा  बर्बराइ रहेकी थिइन । उन्को अवस्था एकदम बिजोग थियो । सिउँदोमा सिन्दुर थियो, अनुहार मैलोले गर्दा कालो देखिन्थ्यो, लगाएका लुगा पनि फोहोर र हिलो लत्पतिएका थिए । हात-खुट्टा नाङ्गा थिए र चिसोले गर्दा सुन्निएर निला देखिन्थे । उनलाई हेर्दा लाग्थ्यो उनि यस कोलाहलले भरिएको  शहरको दौडमा  हेपिएकी , पछाडी पारिएकी एक अबोध पात्र थिइन्,जो सँग गुमाउनु धेरै चिज छ तर पाउनु केहि थिएन । उनि आफ्नै सुरमा एकलास  बर्बराउदै थिइन । आफ्ना जिवनका कथा जसले कुनै साहित्यकारको कृतिमा ठाउँ पाएको छैन त्यसलाई सुनाउँदै थिइन्,आफ्नै भाकामा ...।

तर उनका अनुहारले भने कुनै पिडाबोध दर्साएको थिएन । उनका आँखाले सन्तुष्टिको आभाष दिलाईरहेको थियो,लाग्थ्यो उनलाई यो जिन्दगी प्रती कुनै गुनासो थिएन । तर उनका आँखाहरुले एउटा प्रश्न सोधिरहेको भान हुन्थ्यो ।" किन म हेपिरहेकी छु आफ्नै समाजबाट ? ?"  सायद यही प्रश्न हुनुपर्छ उनको मनमा यो समाज सँग सोध्नु पर्ने जुन उनका आँखाले  बारम्बार तेर्साइरहेका थिए । तर सायद यस्को उत्तर म सँग पनि थिएन त्यसैले त म उनलाई त्यही सडक बिच टुलुटुलु हेरिमात्र रहेको थिएँ ।

ढिलो भाइसकेकोले मैले बाटो तताएँ तर त्यस महिलाको अनुहार,उनले भोगिरहेको अवस्थाले भने मलाई छोडेन । मेरो शरिर घर पुग्ने हतारमा थियो तर मन उनि रहेकै बाटोमा थियो र उन्लाई नियाली रहेको थियो ।

मेरो मनले उन्लाई निकै बाहादुर ठानेको छ । उन्को आँखामा डर थिएन । बेबारिसे जिवनको केहि ठेगान थिएन तर उनका आँखाले भने बाटो पच्छाइ रहेको थियो । उनि ढुक्क थिइन आउने समय प्रती । सायद मनमा कुनै लोभ, तृष्णा नहुँदाको क्षण मानिस यस्तै हुनेछ । उसमा जिवनका भोगाइहरु प्रती कुनै लालसा , डर हुने छैन । उ निश्चिन्त भएर समय सँग ढौडने छ र समय सँगै जे घटनाहरु उसको सामु आउँछ त्यसलाई सरल रुपमा अङ्गाल्ने छ र अर्को घुम्तीहरुको लागी तयार हुनेछ ।

उनि भित्रको ममताले पनि मेरो मन छोएको छ । आफ्नो त्यस्तो अवस्थामा पनि उनि आफ्ना जन्मदाता प्रती स्नेह राख्दैछिन्,उनिहरु खुशी भएकोमा आफ्नो सारा दु:ख भुलाउँदै छिन र जिवन जिउने बलियो आधार सङ्गालेकी छिन । उनको यो ब्यबहारले एउटा हराउँदै गएको यथार्थ सम्झाइदेको छ । मानिस अरुको खुशिमा आफ्नो दु:ख भुलाउन सक्दो रहेछ भन्ने आभाष दिलाएको छ यस घटनाले मलाई ।

घर पुग्दा सम्म पनि उनको त्यो अवस्थाले छोडेन मलाई । घर पुगेपछी गहिरिएर सोचेँ ।अनेक थरी प्रश्नहरु मनमा उठ्न थाले ।"किन भोग्नु पर्‍यो उनले यस्तो ब्यथिती ?,के यो समाज निकै नै निष्ठुर छ ?,के यहाँ पैसाका बिटोले मात्र मानिस बाँच्दछ ?, के यहाँ पैसा मात्र ठुलो छ,मानवता मरेको छ ?" यि यस्ता प्रश्नहरुले मलाई खुब घच्घचाइ रह्यो तर उत्तर मैले भेट्टाउन सकिन । 

सायद क्यामरा मसँग  भएको  भए उन्को फोटो खिची सबैलाई देखाउने थिएँ उन्को अवस्था भन्ने सोचाइ आयो तर  तत्कालै आफैले यस्को खण्डन पनि गरेँ । उनी कुनै कथाको पात्र होइन्न जसको पचार गर्न परोस । उनी कुनै रङ्गमञ्चमा मञ्चन गरिने नाटक होइन्न उनी त हाम्रो समाजको एक यथार्थ पात्र हुन जसको बारेमा हामी बुझेर पनि बुझपाचाउँछौँ,जसलाई हामी देखेर पनि अन्देखा गर्दै हिँड्छौँ । उनि यस्तो पात्र हुन जो मानव हो भन्ने थाहा पाउँदा पाउँदै पनि हामी पशुवत ब्यबहार गर्दछौँ र उन्को हक अधिकार निल्न खोज्छौँ ।

आज उनी जस्ता व्यक्तीहरुलाई देखाएर थुप्रै सरकारी ,गैर-सरकारी संस्थाहरुले कती डलर भजाइ सके होलान ?,धेरै जाना पैदलबाट पजेरो चड्ने भैसके होलान । उनी जस्ता पात्रका कथा बेचेर धेरै कवि,कथाकार,उपन्यासकार जन्मे होलान तर उनी जस्ताको जिन्दगी भने हिजो पनि सडक मै बित्यो,आज पनि सडक मै बित्दै छ र सायद यही क्रम दोहोरिरहे भोली पनि सडक मै बित्ने छ ।

जसको कोही हुँदैन उसको भगवान हुन्छ भन्दछन । तर उनी सँग उन्को भगवानको पनि साथ छैन । भन्नेले त भन्नलान आज भगवानकै कृपामा उ बाँचेकी छे  मरेकी छैन  तर यो त सिरिफ आफु पन्छिने दाउ बनेको छ । समाज त उनी जस्ताको मरणलाई कुरिरहेछ । सायद उनी जस्ता मरे भने समाज आफ्नो तितो यथार्थ लुकाउन सक्षम हुन्थ्यो। तर उनी जस्ता पात्र आफै उत्पत्ती भएका होइन्न । उनी जस्ताको उत्पत्ती यही समाजले गरेको हो । यही समाज भित्रको भेदभाव ,हेला, घृणित सोचाइले उनी जस्ता पात्र जन्माएको हो । त्यसैले जब सम्म यो समाज सुद्धृदैन तब सम्म उनी जस्ता पात्र जन्मिरहने छन मर्ने छैन्न ।

लेख्दै जाँदा चन्द्रमा पनि अन्धकार हुँदै गरेको वतावरणलाई उज्यालो दिन आइसकेको छ तर मेरो मनमा भने डरको कालो बादल मडराइरहेको छ । मन भयभित हुँदै म सँग प्रश्न गर्दै छ; "के भोली तैँले पनि यस्तै नियती भोग्नुपर्ने त छैन ?" । यो प्रश्नले मलाई केहिसमय बिक्षिब्त बनायो । साँच्ची भोली मेरो हातले यो समाजको मुख पैसाको बिटोले थुन्न नसके म पनि यि पात्रहरु जस्तै जिन्दगी जिउन बाध्य हुने त छैन । आज मेर अगाडी पछाडी साथि-सङ्गि,नाता-गोताका अनेकन संबन्ध जोड्दै हिँड्नेहरु भोली मलाई त्यो अवस्थामा भेट्दा के मेरो दु:खमा साथ दिन म सँगै हुनेछन ? "अहँ हुनेछैन्न्",मनले सिधा उत्तर दियो । मित्र,आफ्न्त त ति महिलाका पनि थिए होलान तर के ति आज तिनि सँग छन ? उनी त बिल्कुल एक्ली छिन ।

मैले सोच्दै न सोचेको यथार्थ आँखा अगाडी आइ रोक्कियो । साँच्ची समाज निकै स्वर्थी रहेछ । मानिस आफैमा निकै स्वार्थी रहेछ ।

रात छिप्पिँदै छ र मेरा मन भित्रका सोचाइ लम्बिदै छन तर जती बेदना पोखे पनि समस्या चुलिँदै छ । सायद कुनै दिन यस्को नि अन्त्य आउला । तर कहिले ? म सँग उत्तर छैन ।
                                             २०६८-०५-३१
                      COPYRIGHT © 2012 बिमोचन घिमिरे





No comments:

Post a Comment

ShareThis