Tuesday, July 25, 2017

समय (Dear,तिमी-२ )


Dear,तिमी
म सन्चै भएको परिकल्पनाबाट संधै दिनहरुको शुरुवात गर्छु । दिनहरु त सन्चो, बिसन्चो जे भएपनि चल्छ नै त्यसैले धेरै घोत्लिन चाहान्न । सम्बोधनका आधारमा कुरा गर्ने हो भने पत्र फरक नलाग्ला तर संधै एउटै खाले सम्बोधनले एउटै खाले आवरणलाई जन्माउदैन भन्ने पनि बुझ्नुपर्छ । तर बुझाई नसक्दा वा बुझिसक्दा पनि बुझ्न बाँकी हुने हुँदा केहि अर्थ राख्दैन तब खोज्नु र नखोज्नु बिचको अन्तर रहंदैन ।

भन्छन समय आफ्नो बसमा हुँदैन रे ! समय निकै गतिशील छ र छिटो-छिटो हिंड्छ रे । म कता कता रनभुल्लमा पर्छु; समय छिटो कुदी मात्र रहन्छ त ? समयले ढिला हुन जानेको नै छैन ? समयलाई छिटो देख्नेहरुले समयको ढिलो पाटो नियाल्न नै बिर्से कि कसो ?
समय सोचे जस्तो छिटो हिंड्दैन । लामो अन्तरालबाट गुज्रिन समयले पनि समय लिन्छ । समय छिटो कुद्दो हो त, समय आफुले आफ्ना अभयवहरुलाई पनि आफु संगै छिटो लग्न सक्नुपर्थ्यो, होइन र ? समय मात्रको अर्थ पनि के छ र ? समय संग गाँसिएका त्यसका हाँगाबिँगाहरु पनि संगै बहेन्न भने समय आफैमा समय रहिरहन सक्दैन । क्रिया प्रतिक्रियाको समान तर बिपरित गुणको बेवास्ता गरी समय एक्लै कसरी कुददो हो ? आफूमात्र अगाडी बढेर ति यावत अभयवहरुलाई कुनै कालकोठरीमा जिउंदै राखेर समय कुद्न सक्ला र ? सक्दैन । नसक्नु पर्ने हो । समयले हाँगाबिँगा फैलाउंदै, ओईलाएकालाई झार्दै गए मात्र छिटो कुद्न सक्ला तर पुराना नझर्ने र नयाँ नबढ्ने हो भने समयले कुन आधारमा बाटो पहिल्याउला र ? अनि रातारात नयाँ पालुवा पनि त पलाउँदैन ! पलाउला र ? तसर्थ समयले सोचे जस्तो छिटो हिंड्न जानेको छैन । समय पनि बेला बेलामा अड्किन्छ आफनै अल्झनहरुमा तर देखाउने आवरण फरक पर्ला । पारिएला । झट्ट हेर्दा कुदेको देखिएकाहरु कति बिघ्न अल्झिएका होलान, कुनै बोझहरुमा ! त्यसलाई पहिल्याउन पनि हेर्न जान्नुपर्छ । नत्र संधै सुनेको, देखेको र भोगेकोले मात्र समयलाई परिभाषित गर्दैन; जब वास्तविक हेराईलाई अस्तित्वमा बुझ्न सकिन्न ।


एउटा यस्तै समयको चर्चा अचेल धेरै हुन थालेको छ शब्दहरुको कारखानामा । एउटा यस्तो समय
जसले धेरै साक्षी कमाउन सकेन । जति कमायो; केहि आश्चर्य र आफु भित्रकै दुबिधामा फसेर "हो वा होइन" र चर्चा कै भरमा काग समात्न जाने झुण्डमा हराए । एकथरी समयका आकृतिहरुले जन्माएको सिर्जनाको स्वर्णिम मधुमासमा लुप्त भए । कोहि चर्चाहरुको संकेतको आधार खोजेर प्रतिक्रियात्मक हुन व्यस्त रहे र मुकुण्डो उघारिएको तर लुकाईएको बिक्षिब्दता बीच हराए र हराउन बाध्य पारिदै बिलाए । एकथरी अनुभवको कसिलो साइनो बाँधेर प्रशंसाको पुलिन्दामा आफ्नै अधुरा समयहरु भित्र हराउने निस्किने प्रयासमै छन् । अनि कोहिले बुझ्ने प्रयास गरे तर न तिनले बुझे भनेर भने न त मैले सोधें । अनि बाँकी रहेका दुईथरीहरुको बारेमा समय आफै पनि गम्भीर घेराबन्दीमा परेर बेखबर भएको छ । आफ्नो घेरा भन्दा बाहिर गएर बुझ्न नसक्ने बाध्यताको शिकार भएको छ । जे छ ति आफै संग छ । आफै भित्र छ ।
यहीं आएर समयको छिटो परिभाषा संग यथार्थताको सिङ्गो क्यानभास टक्राउंछ । तर दुवै टक्क उभिन्छन; चर्किने नियति त यी टकराव हेर्ने मन, मुटुहरुको छ । जसको लेखाजोखा र खोजि सायद समय आफैले पनि गर्दैन ।
समय परिवर्तित चाहिं छिटो छिटो हुन्छ, भन्नेमा शंका रहेन अब । केहि अघि सम्म एउटा धारमा बहेको समय केहि पछी धार परिवर्तनको नयाँ किर्तिमान राख्न उद्धत हुने देखियो । सोचे भन्दा फरक, सम्झे भन्दा फरक धार ; बिल्कुलै फरक परिवर्तन । समयको परिवर्तनको गती यसको हिंडाईको गति भन्दा बेग्लै छ । भिन्न छ । ब्यापक छ । छिटो र अप्रत्यासित छ ।
तर परिवर्तनको गति छिटो किन नहोस ति समयका अभयवहरु कहिँ कतै अल्झिन्छन । कतै आवाज विना आवाज निकाल्छन, जसलाई सुन्न र बुझ्न ज्ञानेन्द्रीयको नियमित प्रयोगले मात्र सक्दैन । समय छिटो बढेको छैन । यी बीच निकै भएका छन, धेरै पलहरुको अनुभव संगालिएका छन । तसर्थ समय छिटो बगेको होइन, कतै बसेर हेरिरहेको छ, समयले पनि समयलाई पर्खेको छ ।

आँखा अगाडी झुण्डिएको पात्रो हेरेर, एकनास बदलिने अंकहरुले समयको गणितलाई बुझाउन सक्दैनन । समयको गणित बुझ्न; त्यो समयको भेलमा बगेका, बगाईएका भावनाको गणित पहिल्याउन जरुरी छ । ति दिन-रात, घाम-पानीका एक एक पत्रहरुको रेशा-रेशा केलाउन जरुरी छ । शब्दका कारखानाबाट उत्पादित अक्षरहरुले कोरेका एक एक चित्रका रंगहरुको गणित बुझ्न जरुरी छ । यो समय त्यसै बगेको छैन; यसभित्रको आरोह-अवरोहको गणितका सुत्रहरु यति टिठलाग्दो छन कि यसलाई हरेक कोणबाट सरलीकृत गर्दै हिसाब सल्टाएर प्रमाणित गर्न दुई धुर्वहरुका कोणहरुलाई भूमध्यरेखाको धरातलीय बिन्दुमा ल्याएर संयुक्त बिश्लेषण गर्नु पर्ने हुन्छ ।
चकमन्न रातको सुनसान आकाशमा टिलपिल गर्ने ताराहरु कहिल्यै हेर्ने प्रयास गरेका छौं ? ति झुण्डहरुमा केहि आकृतिहरु देखिन्छन, हराउँछन, लुक्छन, झुल्किन्छन । ति सबैको गणित पनि मिसिन्छ यो लामो समयको सुत्रबद्ध अन्तरालको गणित बुझ्ने दौडमा ।
कतै कहिलेकाहीं किताबहरुमा हराएका अक्षरहरु खोज्ने गरेका छौ? ति हरेक अक्षरहरुमा लुकेका शब्दहरु र ति शब्दहरुमा हराएका आवाजहरुको गणित; समयको बिकराल रुपको वास्तविक दर्शन त त्यस घडी हुन्छ । यसको गणित साँच्चि निकै सरल देखिन्छ तर छैन । यसका सुत्र हरेक पाइला पाइला, मोडहरुमा परिवर्तित छ ।
समयको गणितले ति खोलाहरुमा बगेका हरेक एक थोपाको संसर्ग संग सम्बन्ध राख्छ । तस्विरहरुमा कुँदिएका एक एक छटाहरु संग नाता गाँस्छ । समयले हेराईहरु संग, गुन्जिने हरेक संगीतसंग साइनो गाँस्दै आफ्नो सोपान चढ्छ । यहि सोपान चढेर तल हेर्नु । समयका गणितका सुत्रहरु कति जेलिएका छन । कति अनुत्तरित छन । कति प्रश्नहरुको भारी बोकेर मुख बाई रहेका छन ।
नडराउनु ति झम्टिन आउंदैनन । आफ्नै परिधिमा, आफ्नै नियतिहरु संग जुध्दै ति पर्खाइको उराठलाग्दो समय पार गर्दैछन । तिनले परिधी नाघ्न जानेका छैनन । तर तिनले हेर्न चाहिं हेरिरहन्छन । तर ख्याल गर्नु ति आफ्ना सिमित सोचको उपच भएका होइनन न केहि भावानात्मक भेलाहरुमा उर्लिएर प्रस्तुत भएका हुन । यी भ्रम नपाल्नु । कारण खोज्ने तर चाहिदैन वा हुदैन भन्ने आडम्बरको भिडबाट उम्केर तिनलाई हेर्नु । ति कारणहरुसंग जेलिएका छैनन न कुनै पूर्वाग्रह वा पक्षपातको शिकार भएका छन । ति मौलिक छन् र बाँचीरहेका छन ।
अन्त्यमा,
शुभकामना, बधाई के हुन्छ समयको अनन्त चर्कहरु मध्ये एक चर्कको समाप्तिमा ? यो चाडको शुरुवात होइन न कुनै बृहत कार्यको समापन ! यो पनि समयका अनेकन अभयवहरु जस्तै एउटा यस्तो अभिन्न अंग होला जसले साक्षी पाएको छ वा छैन आफैमा अन्योलता छ तर यसले पनि सम्झनाको महलमा एउटा इट्टा भने अवश्य थप्ने छ ।
समयका हरेक चक्रहरू समाप्ति र शुरुवात बिचको स्थानमा घेरिएका शुन्य र त्यहि भित्र गुन्जिएको शुन्यतामा समयको एक बृहत गतिशिलता चलिरहन्छ । जीवन सायद शुन्यमा शुन्य सरी बहने समयकै अर्को बृहत नाम होला र हामी यो चक्रको एउटा जीवित अन्तरविरोध ।।
उही म !!


२०७४/०४/१० 

No comments:

Post a Comment

ShareThis