Saturday, February 18, 2017

Dear,तिमी



 (कसैलाई वास्तविक लागेमा, संयोग मात्र हुनेछ ।।)
Dear,तिमी
       कहिलेकाहीं एक्कासि बाटो काट्न आउने केहि सुमधुर दृश्यहरु, कहिलेकाहीं दृश्यहरुमा ओहोरदोहोर गर्ने शब्दहरु र कतैकतै पोखिने मनका केहि ठट्यौलि, केहि गहिरो भावनाहरुका शब्द देख्दा, लाग्छ तिमी ठिकै छौ जिन्दगी जिउनेक्रममा ! न राम्रो न नराम्रो, ठिकै ! जिन्दगि यसरी चल्दै गर्दा नि रमाइलो नै हुन्छ होला, म त्यति ठम्याउन सक्ने अवस्थामा आज छैन । जे होस्, छरिने ति मुस्कानहरुलाई संगाल्न पाउँदा म पनि खुशी नभई रहन सक्ने अवस्था छैन, म खुशी नै छु, खुशी देख्न चाहेकाहरु खुशी हुँदा ! तर चिन्ता यति हो, खुशी देखिएका ओठ र आँखाहरु बीच उही संदेश संचार होस्, एकले अर्काको भन्दा भिन्न संदेश प्रवाह नगरुन !!

       धेरै भयो शब्दहरुले एकअर्काको चौघेरा नाघेर एक अर्काको आँगनमा नखेलेको । त्यसैले अचेल अर्थ र सन्दर्भहरु बुझ्न पनि निकै रस्साकस्सी गर्नुपर्ने अवस्था आउँछ, दिमाग धेरै सोच्छ , न सोच भन्दा भन्दै ! आज सोचें कसैले नपढ्ने एउटा चिठी लेखौं अनि आफैले पढौं हरेक शब्दहरु ! बस शब्दहरु थुनिनु भन्दा पोखिएकै राम्रो, होइन त ? प्रश्न नि कसलाई सोध्नु छ र ? जब उत्तर दिने म आफै छु ! खैर ! लेख्नु त छंदै छ, म लेख्दै छु ! आफुले पाएको, नेपालीमा भन्दा "लेखक" र अंग्रेजीमा भन्दा "राइटर"को उपाधि बचाइराख्न र त्यो भित्र गाँसिएको भावनाहरुलाई संगाल्न पनि म लेखिरहन्छु ! आशा गर्छु मेरा कलमहरु नथाकुन, म थाके पनि !!

कुनै बेला शब्दहरु ठोक्किए भने ख्याल गर्नु शब्द तिनै हुन्, भावना पनि तिनै हुन् , जो हिजो थिए र जो आज पनि बाँचीरहेछन । लेख्दै गर्दा आज केहि दिनहरु सम्झिन्छु, एउटा, एउटा दिन ! तिम्रो मानसपटलमा ति दिनहरु खेल्छ, खेल्दैन्न थाहा छैन ! तर आफै संग बोल्दैछु, अनि यसो लाग्छ तिमीलाई ति दिनहरु ख्याल नहोला, तिम्रो लागि संधै घट्ने घटना मध्ये केहि नौलो "ए! होर ! " भन्ने दिन नै होला , वा कुनै औपचारिक निरन्तरताको एउटा पट्यार लाग्दो दिन ! तर आशा गर्छु, त्यसो नहोस ! यो भन्दा बेसी म अरु केहि भन्ने र बिश्लेष्ण गर्ने पक्षमा छैन । बारम्बार प्रश्नहरु आफैलाई तेर्साउँछु अनि उत्तर खोज्ने प्रयास गर्छु, भेट्टाउँदिन ! किन, कसरी, के कारण ले ? म खोज्छु आज पनि तर दुखसाथ भन्नुपर्छ, म भेट्टाउँदिन ! 

Dear,तिमी


म यहि रस्साकस्सि बीच, बिगत सम्म पुगेर वर्तमानमा धेरै चोटी पच्छारिएको छु ! बिगत-बर्तमानको एउटा गम्भीर विरोधाभाष संग जुध्न पनि निकै साहस चाहिँदो रहेछ ! कुनै बेला थाहै नदीई बाँधहरु भत्किँदै भेलहरु उम्किन्छन, तिनलाई जमाई राख्नु पनि एउटा चुनौती नै लाग्छ ! अनि निरन्तर घुमिरहने दिमाग र मनहरुलाई बाँधेर पिजडा भित्र थुन्नु पनि एउटा अर्को सकसपूर्ण यात्रा हुँदो रहेछ, अनि यी सबैलाई थाम्दै गर्दा भावनाहरुमा उर्लेर कलम समात्न तम्सिने हातहरु र लेख्न रफ्तार पकड्ने कलमहरुलाई सम्झाउँदै; "आज होइन, भोली भन्दै" समय टार्न खोज्नु, त्यो दुस्साहस गर्न पनि निकै ठुलो साहासको खाँचो हुँदो रहेछ भन्ने कुरा म बल्ल बल्ल बुझ्दैछु ! हुन त, जीवन यस्तै हो; बुझ्दै, सिक्दै, अपनाउंदै अगाडी बढ्ने ! हरेक अनुभव नयाँ नै हुन्छ ! तर अनुभव संगाल्न भन्दा त्यो अनुभव संगाल्न परेको यथार्थले भने बेसी घचघचाई रहँदो रहेछ, अझ यी याथार्थहरु आफैमा अन्योलपूर्ण र रहस्यमय भए, चक्रब्युमा फसेको अभिमन्यु जस्तो जीवनले बाहिर निस्किन कुनै सुरक्षित निकास नपाउँदो रहेछ ! 

एक्कासि बाटाहरु बदलिए भने, कुनै कारण बिना यात्राहरु रोक्किए भने, के बुझ्ने ? निष्कर्ष के निकाल्ने ? अनि बोलिएका भनाई र नबोलिएका वास्तविकता बिचको खाडल कसरी पुर्ने ? बोझ भइयो कि ? भन्ने आशंकालाई कसरी मेट्ने ? जब आफैले शुरु गरेको यात्रामा आघोषित पूर्णबिराम लगाइन्छ भने, अनि सुचनाहरुको कुनै ओहोरदोहोर नै हुँदैन र प्रयासहरुलाई मौन कुहिरोहरुले ढाक्छन भने, के बुझ्ने ? प्रश्न धेरै आउँछन, जन्मिन्छन ! 

जब उत्तरहरुले यात्रा थाल्दैनन् अनि देखे र भोगे अनुसार एउटा निर्णय त आवश्यक नै हुने रहेछ ! बिगत-बर्तमानले त्यहि भन्यो, त्यहि सिकायो, त्यही देखायो !! 

Dear,तिमी
       शब्दहरुको कुनै भर हुँदैन, कहिले काहीं भावनामा उर्लिदा, मौका बचाई राख्न, शब्दहरु उर्लिएलान !  केहि सत्य हुन्छन केहि झुठ हुन्छन, केहि अनयासै निस्किन्छन, केहि लेखाजोखा गरेर निस्किन्छन ! म यिनै परिवेशलाई बुझ्ने प्रयास गर्दैछु ! 

भावनालाई थुनेर भन्दा तिनी संग जुधेर म उत्तर खोज्ने दौडाहमा छु, कुनै दिन आशा छ भेट्टाइन्छ उत्तर ! कहिलेकाहीं म उत्तर खोज्ने होडबाजीमा फस्न खोज्दिन, यो गन्जागोललाई हुत्ताएर म उम्किन पनि खोज्छु तर फेरी आफै आउंछु ! संसार गोलो छ, कतै कतै आवेगहरु ठोक्किए भने कुनै नयाँ बिष्फोटनले केहि नयाँ संदेश ल्याउँछ भन्नेमा आशावादी छु तर अगाडी नै थाक्छु कि भन्ने डर पनि लाग्छ ! एकतर्फी तालीहरुमा आवाज न आउँदो रहेछ, तर खुशी के मा छु भने, मेरा कलमहरु सजिल्यै थाक्दैनन् ! कतै न कतै मलाई झक्झकाएर पनि लेखिरहन्छन ! लेख्न त तिम्रा कलमहरुले पनि लेख्लान ! कतै लुक्लान तिम्रा शब्द, केहि सिमित दर्शकहरु माझ ! म मेरो शब्द राख्न सक्षम छु, मेरा शब्द पढ्न सबै सक्षम छन !! 

खैर ! लेख्दै गए, पाना भरिंदै जाला ! पाना भर्ने इक्षा होइन ! शब्दहरुले कहीं कतै वैमनस्यता ओकलेका छैनन् ! न स्वयं लेखकले ! शब्द गुम्साए गन्हाउँछ, लेखीए, पाठक भेट्टाउँछ, शब्दहरु फिजिन्छन ! यथार्थहरु सतहमा आउलान ! खोज त त्यहि नै हो जीवनको ! 

जीवन आफ्नै परिवेश र सौन्दर्यमा चल्छ नै, चलाउनु पनि पर्छ ! मुस्काउन जीवनले भुल्नु हुँदैन ! मुस्कान छिन्न पनि खोज्नु हुँदैन ! 

आजलाई मेरो कलमले यहीं बिदा माग्छ !!                                                    
                                  उही म !!
२०७३/११/०७, शनिबार !

No comments:

Post a Comment

ShareThis