केहि
गर्छु भन्दा भन्दै
औंलामा
दिनहरु गन्दा गन्दै
उमेरले
मध्यदिन छोइसकेछ
ख्याल
ख्याल मै ...
तर
सकिएन बा, केहि गर्न
न
भनेको पुग्यो न सोचेको...
तर
बा
अब
भने म "लेखक" बन्ने शुरमा छु
म
एउटा "किताब" लेख्दैछु ।
आफ्ना सिमीत कामलाई
संघर्षको उत्कृष्ट नमुना बनाउनुछ
जे जस्तो भएपनि इमान्दारिताको
नक्सा कोर्नुछ
झुण्डाउनुछ, आफ्ना फोटाहरु,
लेख्नुछ, आदर्शका ठुलाठुला शब्दहरु,
हारलाई साहससंग जोड्नुछ,
तपाई कसैले नभनेपनि
मपाइत्व त बचाएर राख्नुछ
बिकाउनु छ, ठेलिकाठेली शब्दहरु !!
भौतारिरहेका कस्तुरिहरु बीच
तिनैका बिनाको लेपन लगाएर
मेरो नाममा
तिनैलाई चखाउनुछ, तिनले भुलेको चिनारी
किनकि बा
यहाँ हल्ला बिक्छ,
हल्लाकै भरमा पिठो बिक्छ
मणिहरु त कौडीमा फ्याकिन्छन
कवाडहरु करोडमा आंकिन्छन ।
त्यसैले बा,
अब तपाई पनि ढुक्क हुनुस
आफ्ना छाती गर्वसाथ फुलाउनुस
तपाईको नाम पनि अब
"लेखक"का बाको सुचिमा टाँगीनेछ
तपाईको जीवनी नि अखवारमा छापिनेछ
लाम लाग्नेछ मेरो "अटोग्राफ" लिन
अन्तरवार्ताको घन्टी बज्नेछ
गुन्जिनेछ भाषण साहित्यिक गोष्ठीहरुमा
आउनेछ नाम बिभिन्न पुरस्कारहरुमा...
मख्ख पर्नुस बा
केहि गर्ने धोको पुरा गर्दैछु
म पनि
"लेखक" बन्दैछु ।।
२०७३/०३/२२
बुधबार
No comments:
Post a Comment