Friday, January 9, 2015

स्ट्राइकर


हामी मध्ये धेरैले क्यारमबोर्ड खेलेका छौं , नखेलेता पनि सायद धेरैले खेल देखेका छौं , त्यो पनि नभए सामन्य रुपमा खेलको नाम वा खेलको नियम बारे कुनै न कुनै कोणबाट जानकार भने अवश्य छौं जस्तो लाग्छ । यो एउटा यस्तो खेल हो, जो संग केहिको बाल्यकाल र धेरैको युवावस्थाका स्वर्णिम पलहरु गाँसिएको छ ।

मूलत: यस खेलमा नौ वटा कालो , नौ वटा सेतो गोटीहरु हुन्छन र एउटा विशेषतः रातो रङ्गको गोटी हुन्छ जसलाई "रानी" भनिन्छ , जसको प्राप्ति कै लागि खेल केन्द्रित हुन्छ , यी सबै गोटीलाई आफ्नो गन्तब्य सम्म पुर्याउने जिम्मेवारी बोकेको एउटा एकमात्र अरु भन्दा अलिक ठुलो वा  फरक देखिने गोटी हो "स्ट्राइकर" ।

मलाई क्यारमबोर्ड खेल खासै खेल्न नआए पनि यस खेललाई नियाल्न भने बडो चाख लाग्छ , धेरै हिसाबमा यस खेलले मलाई आकर्षित गर्छ, कतै जीवन दर्शनको एउटा पाठ सिकाउँछ र सबैभन्दा बेसी यो खेलको स्ट्राइकर पात्रले नै मेरो ध्यान तान्दछ ।

स्ट्राइकर यो खेलको एउटा यस्तो पात्र हो जसको त्यति चर्चा कहिल्यै हुँदैन तर यसको आवश्यकता भने अपरिहार्य नै हुन्छ तर जे जति गर्दा पनि उसको अस्तित्वको चर्चा न खेल भन्दा अगाडी न खेल पछाडी नै सायद हुन्छ । खेलाडी र गोटी बिचको पुल सरह आफुलाई बचाइराख्नुमा नै स्ट्राइकर खुशी छ र सायद उ आफ्नो यो परिधि कहिल्यै नाघ्न चाहांदैन वा सक्दैन पनि, त्यसैले दिनदिनै तिनै चिप्ला-खस्रा बोर्डहरुमा दायाँ बायाँ ठोक्किदै खेलाडीको इसारामाचल्दै अरु गोटीहरुलाई उनीहरुको गन्तब्यको त्यो गोलघेरामा पुराउन उ हरदम लागिरहन्छ, आफु संधै गन्तव्यहीन भएर ।

जब-जब कुनै खेलाडीको हात भित्र उ अटाउँछ, उसलाई लाग्दो हो सबै उसलाई मायाको न्यानो स्पर्श भित्र लुकाउन लालायित छन् र उ भित्र-भित्रै मन-मनै मक्ख पर्छ कि उ मायाको केन्द्रको एक प्रमुख आयाम र खेलको एक प्रमुख पात्र हो । यसरी यहि नशामा लठ्ठीदा, कतिखेर ति हातहरुबाट उ फुस्कियो , कति खेर त्यो बोर्डको कुनाकाप्चामा ठोक्कियो र कति खेर उसले एउटा गोटीलाई मालिकको इशारा अनुरुप गन्तव्यसम्म पुरायो उसले सायद नै चाल पाउँछ, त्यसैले त कयौं ठक्कर पाएपनि उ हासिरहन्छ,खेलमा रमाइरहन्छ ।

तर संधै बेहोसीले साथ नदिने रहेछ । जब- जब नशाको बेहोसी उत्रिदै जान्छ र ऊ आफ्नो यथार्थतामा फर्किन्छ उसलाई पनि गन्तब्य पुग्ने इक्षा बढेर आउला र त हतारिंदै उ आफुलाई गोलघेराको त्यो सिमानाबाट खसाल्छ र लक्ष्य प्राप्तिको चरम आनन्दमा उ डुब्छ । तर विडम्बना उसको सफलताको यहाँ कोहि भोगी छैन , उसको खुशीको यहाँ कसैलाई चासो र आशा छैन , उ तत्कालै घृणाको पात्र बन्छ । जो आफ्नो सम्पूर्ण समय अरुको यात्रा सफल तुलाउन लाग्यो उसकै सफलताको लागि प्राथना गर्ने र उसको सफलतामा खुशी हुने यहाँ कोहि छैन भन्ने जब धरातलीय यथार्थको ज्ञान उसलाई हुन्छ, उ संधै नशाको कृतिमतामानै रमाउन खोज्छ, सायद त्यसैले होला उसले बिरलै त्यो गोलघेराको सिमाना नाघ्ने दुस्साहस गरेको देख्छु म ।
  
जब खेल सकिन्छ , खेल संगै उ हुनुको अस्तित्व पनि समाप्त हुन्छ । उ खेलाडीहरुको स्मृतिमा अटाउदैन, अन्य गोटिहरुको चर्चा चलिरहन्छ  , रानीको चर्चा चल्छ , चलिरहन्छ तर ति सबैलाई सफलताको स्वाद चखाउने उ कहीं कतै चर्चाको बिषय बन्दैन, यदि भइहाले उ हरेक शब्द शब्दमा दोषी ठहरिन्छ , तर कसलाई के थाहा , ति अनेकन ठक्करहरु सहेर थलिएको उसको शरीरको पिडा, सबैबाट टाढिएको पिडा , कसलाई के थाहा शारीरिक र मानसिक पीडाको असर ... यसको एक्लो प्रत्यक्षदर्शी उ मात्रै छ ।

कहिलेकाहीं मलाई के लाग्छ भने ; लेख्न सक्ने वा बोल्न सक्ने भएको भए, सायद उसले पनि आफुले आफुलाई सम्बोधन गर्दै लेख्थ्यो होला, भन्थ्यो होला 
"मुझे गुमान था, चाहा बहुत दुनिया ने मुझे
                 मे अजिज सबको था, मगर जरुरत के लिए "   ।।

२०७१/०९/२५ © बिमोचन घिमिरे !!

  

No comments:

Post a Comment

ShareThis