Monday, March 11, 2013

पुन: मोफसल



                                                              
समय गतिशील छ। यसको भेलमा पसेपछि उम्किन गाह्रो कुन-कति बेला कहाँ लगेर पछार्ने हो , भन्न के सोच्न नि सकिन्न समय बलवान यसको अगाडी मानिस निरिह समयले जस्तो अवस्थामा ल्याएर उभ्याउँछ त्यसलाई सहज रुपमा स्विकारी त्यस अनुरुप आफुलाई ढाल्नु मानव सभ्यताको नियति नै भैसक्यो ...

समय सँग सम्बन्धित यी यस्ता बखान,कथा उसले बाल्यकाल देखिन नै सुन्दै आएको हो तर आजसम्म यसको सहि बिश्लेष्ण गर्ने खुबी उसमा बिकसित भएको थिएन उसले यस कुरालाई गम्भीरता पुर्वक लिएको पनि थिएन बुझ्ने प्रयास नै गरेको थियो तर उही समयको देन आज एउटा यस्तो घुम्तीमा आई उभिएको जहाँ उभिएकै भरमा ति यावत गुह्य तत्वको भेद आफ्ना अगाडी खुलेको अनुभव गर्दैछ हिजो सम्म कथा गफमै सिमित समयको पारिचय आज उसको अगाडी यथार्थ भएको समयका केस्रा केस्रा केलाउँदै आज सम्मका जीवन भोगाई नियाल्दै

"बाह्र बर्ष" एउटा लामो समय | बाह्र बर्षमा मानिसको जीवनमा धेरै फरकपन आउँछ | यहाँ मिनेट मिनेटमा संसार बदलिन थालेको बाह्र वर्षको कल्पना पनि नगरौं, यसले परिवर्तनको प्रलय लिएर आउँछ | "१२" यो अंकको निकै ठुलो महत्व उसको जीवनमा | यो अंकलाई जुन सुकै कोणबाट नियाले पनि आफुलाई मात्र भेटाउँछ |

कुनै चलचित्र हलमा जस्तो आज आफ्नो जीवनलाई ठुलो पर्दामा नियाल्दै | आफ्नो जीवनलाई पछाडी धकेल्दै बाह्र वर्ष अगाडिको घटना सम्झन्छ , जुन दिन कुनै एउटा बसको सिटमा बसेर झ्यालबाट टाउको निकाल्दै चलायमान दृश्यहरु नियाल्दै थियो | आज पनि  त्यहि गर्दैछ तर फरक यति मात्र हो , हिजो उसको अगाडी सबैका सपना बनाउने, भत्काउने काठमाण्डौ मुख बाई रहेको थियो तर आज बाहिरिएको नेपाल खाल्डो उसको पछाडी मुख बाई रहेको | यो भौतिक भिन्नताको कुरा भयो | जब मानसिक भिन्नता खोज्छ ...  खालिपनामा हराउँछ | हिजो पनि उसको मनमा डर, उत्साह भविष्यको मिठो कल्पना थियो, आज पनि त्यहि मानचित्रमा उभिएर गन्तब्य पाहिलाउँदैछ |

जब जब यो लामो अन्तरालको ढोलक उसको मानसपटलमा बज्न थाल्छ तब तब लामो सास तान्दै वरिपरिका हावा हावा संगै मिस्सिएका अनेकन कणहरु फोक्सोको भित्रि सतह सम्म पुर्‍याउँछ उही बेगका साथ वातावारणलाई नासो सुम्पिन्छ | हेर्दा लाग्छ ठुलो बोझ लुकेको भित्र !!

बाह्र बर्ष पहिले मोफसल छाडी यो शहर पसेको थियो | प्रकृतिको ‌‍आलीङ्गन , खोलाको बेग , चराचुरुंगीको मधुर आवाज, स्वच्छ हावा पानी बीच खरले छाएको  केहि साना घर कहिँ कतै सम्पन्नता झल्काउने गरि कोहि कोहिले बनाएको जस्ताले छाएको घर बाहेक चारै तिर खुला हरिया फाँटै फाँटले भरिएको गाउँमा हुर्किएको त्यो सानो केटोको; प्रकृतिबाट टाँढिदै गएको , घरै घरको जंगल , प्रदुषित हावा मानिसको चापले निस्सासिएको यो शहर सम्मको रुपान्तरण कम्तिको उराठलाग्दो थिएन ! त्यो दिन सम्झंदा आज पनि   झसङ्ग हुन्छ | शहर उसको लागि शहर उसको लागि बिल्कुलै नौलो थियो !!

"समय कति चाँडो बित्दो रहेछ" अचम्मित | हिजो छिर्दै गर्दा बिरानो रहेको काठमाण्डौ शहरसंग आज छाड्दै गर्दाको अवधिसम्म धेरै ठुलो भावानात्मक सम्बन्ध गाँसिएको | आज यो शहर दुबैले एकअर्कालाई राम्ररी चिनेका छन | यो शहर भित्रको कथा ब्यथा उसले राम्ररी बुझेको यो शहरले पनि उसको कथा बुझेको भन्नेमा ढुक्क |

समय जति चाँडो बिते पनि यो अवधिमा   शहरको जीवनमा धेरै परिवर्तन आएको शहर प्रकृतिबाट झन् झन् टाढिँदै गएको | गगन चुम्बी भवन, मानिसै मानिसको भिड भित्र शहर दिनानुदिन पिल्सिएको | एकलिएको | चोर, फटाहा , भ्रष्टाचारीहरुको बीच ईमान्दारिता पिल्सिएको यो शहर भित्र | बर्षौ कयौं मानिस उसका जस्तै सपना पुरा गर्न यो शहर छिर्छन तर सबैको सपना माथि खेलवाड गर्न धेरै ठुलो संख्यामा नरभक्षीहरु यो शहरमा सलाबलाई रहेको उसले पाएको !

यो दौरान  शहरले झेलेको बिभिन्न राजनीतिक उथल-पुथल प्रत्यक्ष रुपमा नियाल्ने मौका पनि पायो उसले | हत्याकाण्ड देखिन गणतन्त्र सम्मको सबै उथल पुथल को साक्षी भयो ! यहि क्रममा उसले नेपालको राजनीतिलाई नजिकबाट बुझ्ने मौका पनि पायो | नेताको मुकुण्डो लगाएर देश-जनता लुट्ने राक्षसहरुलाई राम्ररी चिनेको अचेल उसले ... !
 तर यी सब घटनाक्रम संग उसको कुनै लगाव छैन , डर छैन | यी सब संक्रमणकालीन अस्थिर राजनीतिको उपच हो भन्ने कुरा उसलाई प्रष्ट  थाहा | जब राजनीतिले स्थिरता पाउँछ यी सब कुरा मिल्छ भन्नेमा आशावादी |

यो अवधिमा शहर र शहरबासीको मनबाट मौलिकता , राष्ट्रियता , स्वाभिमान हराउँदै गएको तितो यथार्थले भने उसलाई साह्रो पिरोलोएको छ | मानिसमा बढ्दै गएको लोभ,ईर्ष्या र देश लुटेर आफु धनि हुने र आरामदायी जिन्दगि जिउने दरिद्र सोच नै यसको कारक रहेको उसको ठम्याई छ | नेपालीको मनबाट हराउँदै गएको नेपालीत्व र देश भजेर आफु सम्पन्नशाली हुने होडबाजी देखेर उ चिन्तित छ | उसले काठमाण्डौमा बिदेशी चहलपहल पनि खुब देख्यो | त्यसैले त देश र देश संगै जोडिएको सारा नेपालिको स्वाधिनता माथि मड्राईरहेको कालो बादल देखेर ऊ भएभित भएको छ |

यो शहर उसको प्रेमको साक्षी पनि हो !! आफुले लाएको एकोहोरो माया उसलाई प्यारो छ , दोहोरो बनाउन नसकेको हिन्नताबोध पनि छ कतै ! तर जे होस ! आज पनि उसको एक्लोपनको साथि उसको त्यहि प्रेम भएको छ | तर यो प्रेमको चुम्बक्त्वले नि आज उसलाई रोक्न सकेको छैन | यहि शहरमा बाँध्न सकेको छैन | आज उसलाई यो शहर भन्दा धेरै पर जानुछ ... धेरै टाढा...| त्यसैले ऊ बिगतमा रुमल्लिन चाहाँदैन तर भुल्न पनि सक्दैन | उसको प्रेरणाको श्रोत नै यो शहर र यो संग गाँसिएको आरोह-अबरोह नै हुन् | तसर्थ ऊ बिगत भुल्न सक्दैन | तर समयको चक्रब्युबाट उम्कने कुनै सुत्र छैन | अगाडी बढ्नुको कुनै विकल्प छैन |

"ओ ! दाइ झर्नु पर्दैन" , खलासीको चर्को स्वर सुनेर ऊ झसंग हुन्छ | कति खेर गाडीले काठमाण्डौ छोड्यो, कति खेर कहाँ के भयो उसलाई कुनै हेक्का नै भएन ! ऊ त आफ्नै धुनमा मग्न थियो | बाहिरि संसार भन्दा निकै पर जिन्दगीलाई रङ्गिन क्यानभासमा नियाल्दै थियो | ऊ मनमनै हाँस्छ |

"अझै के टोलाई राको" "नझर्ने भए बस कुदाउँछौँ " खलासीले अझ चर्केर बोल्यो | क्यानभासबाट आँखा हटाउँदै ऊ बल्ल होसमा आयो | हतार हतार सामानहरु मिलायो र ओर्लियो | खलासी अझै फ़त्फ़ताउँदै थियो... |

जिन्दगीको दोस्रो खण्डको प्रस्थान बिन्दुमा ऊ उभिएको छ | बाह्र बर्ष अघि केहि पाउने , केहि गर्ने , सपना साकार पार्ने निउँमा शुरु गरेको  "काठमाण्डौ  यात्रा " लाई बिचमै बिट मार्दै आज बिगत - बर्तमान दुवै गाभिएको उही पुरानो दोभानमा आई उभिएको छ जहाँ बाट हिजो उसले आफ्नो प्रथम खण्डको शुरुवात गरेको थियो र आज दोस्रो खण्डको गर्दैछ | काठमाण्डौको जीवन, महंगी, धुँवा-धुलो ,कोलाहलबाट आजित भएर आज ऊ फर्केको छ |

काठमाण्डौबाट खालि हात भने ऊ अवश्य फर्केको छैन | काठमाण्डौले सिकाएको संघर्ष, भोक-प्यास उसले संगै ल्याएको छ | आज उसले बुझेको छ जीवन | जानेको छ सफलताको सुत्र | बर्षौं पहिले गुमाएको मौलिक धरातल आज उसले भेट्टाएको छ | केहि पाउने लोभले उसका पाईला दिग्भ्रमित भएका थिए तर आज यसले सहि दिशा पहिलाएको छ | हिजो गरेका गल्ति सुधार्दै आज उ फिरेको छ आफ्नै जन्मठाउँ | ऊ हुर्किएको उसको आफ्नै गाउँ |

उही स्वच्छता , उही माधुर्यता | बाह्र बर्ष आगाडी छोड्दाको गाउँ आज पनि उस्ताको उस्तै तर ऊ भने बदलियो | केहि सुगमता , केहि बिकास देख्यो तर गाउँमा ल्याउनु पर्ने समय सापेक्ष परिवर्तन बारे उसले कहिल्यै सोचेन | सदैव आफ्नै स्वार्थ पूर्तिमा ऊ तल्लिन रह्यो | एउटा लामो समय गाउँ भुलाएर बितायो उसले | ति दिन सम्झेर उसका आँखा रसाए | तर एक मन खुशी छ ऊ , जे जस्तो भए पनि आज ऊ आफ्ना पाइला पछ्याउंदै गाउँ फर्केको छ |

ढिलो त भैसक्यो तर अझै समय घड्केको छैन | अब आफ्नो गाउँ बनाउनुछ उसले | होस्टेमा हैंसे मिलाउँदै बिकासको गोरेटोबाट डोर्‍याउँदै राजमार्गमा हुँईकाउनेछ गाउँलाई | आफु हुर्केको ठाउँलाई | पसिनाको खोलो बगाउनुछ आफ्नै माटोमा | सुन फलाउनु छ | गाउँ हुँदै पुरै देशको मुहार फेर्नुछ |

ऊ आफ्नो सामान बोक्छ र ठुलो क्रान्तिको सम्भावना बोक्दै जन्मघर तिर लम्कन्छ ...

(पर क्षितिजमा घाम अस्ताउँदै छ | दिनभरी चारा खोज्न भौतारिएका चराहरु , गुँड फर्कन आतुर छन् |

केहि दिन देखि हराएका एक हल गोरु लुरु लुरु आएको देखेर हर्के निकै खुशी भएको छ | अब उसले पनि सुनका बाला फलाउनेछ !! )

Copyright © 2013 बिमोचन घिमिरे

4 comments:

  1. एउटा आम नेपालीको यो कथा पढ्दा निकै राम्रो लाग्यो । यस्तै धेरैको जीवनमा भएको होला शायद । यो पढेर म सोच्न वाध्य भए, कति म जस्तै वाध्य हुनेछन । सबै हाम्रा सपनाहरु यसै काठमाडौं शहर जस्तै ध्वस्त भैरहेका छन्, हुँदै छन्! १२ बर्ष अगाडि कता थियौ हामी, अहीले कता जाधै छौ र अब को १२ बर्ष पछि हाम्रो अस्तिथ्व के होला । । निकै प्रभावसाली लाग्यो को कृति!
    धन्यवाद!

    ReplyDelete
  2. धेरै धेरै धन्यवाद !! सकेसम्म यस्ता कृती अवश्यनै लिएर आउनेछु !! हौसला बढाउने प्रतिकृयाको लागी धेरै धेरै धन्यवाद !!

    ReplyDelete
  3. nice bimochan.touching chha.mature presentation chha..2nd para ko 4th line ma juhye nabhayera guhye hi ki??

    ReplyDelete
  4. प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद ..त्रुटी सच्चाएको छु ..धन्यवाद !

    ReplyDelete

ShareThis