किन बढ्दैछन् हवाई दुर्घटना ?
अप्ठेरा पहाड र भूबनोटका कारण नेपाली आकाश
त्यसैपनि असुरक्षित छ । त्यसमाथि छानबीन प्रतिवेदनले दुर्घटना हुनुमा धेरै
पाइलटको कमजोरी देखाएको पाईन्छ । ‘कारण मानवीय मात्रै होइन’ वायुसेवा
निगमका अनुभवी पाइलट रविन्द्र शेरचनले भन्नुभयो – ‘यसमा मानवीय र भौगोलिक
अवस्था दुवै कारण हुन् ।’ हरेक विमान दुर्घटनापछि छानवीन समिति गठन हुन्छ ।
त्यसले धेरै अनुसन्धान गरेर प्रतिवेदन बुझाउँछ । छानविन समितिले मृत
पाइलटलाई दोषी देखाएर अरु खास कारण खोज्ने झण्झटबाट मुक्त हुन खोजेको आरोप
पनि लाग्ने गरेको छ । मानवीय र भूबनोट मात्रै होइन, विमान दुर्घटना हुनुमा
अरु पनि धेरै कारण छन् । जानकारहरुका अनुसार पुराना जहाज र क्षमताभन्दा बढी
भारका कारण पनि विमान दुर्घटना हुने गरेका छन् । नेपाल नागरिक उड्डयन
प्राधिकरणको नियम अनुसार २० वर्षभन्दा पुराना जहाज चलाउन पाइँदैन । तर
नेपाली आकाशमा ५० वर्ष पुराना जहाज पनि सञ्चालनमा छन् । यी कारणले पनि
नेपाली आकाश असुरक्षित भएको बताईन्छ ।
२१ वर्षअघि सरकारले उदार आकाश नीति लिएपछि
नेपाली आकाशमा निजी क्षेत्रका जहाजले उडान भर्न थाले । जहाजहरु थपिने क्रम
बढ्न थाल्यो । तर जहाज थपिए अनुसार सुरक्षा, पार्किङ सुविधा, हवाई सेवा
अनुगमन लगायका काम हुन सकेन । निजी कम्पनीका सञ्चालकहरुले सुरक्षालाई भन्दा
पैसालाई बढी ध्यान दिन थाले । तर दुर्घटना रोक्न पाइलटको भूमिका
महत्वपूर्ण हुन्छ । ‘उडिरहेको समयमा जहाजमा कुनै पनि समस्या देखिएमा
पाइलटले तुरुन्तै निर्णय लिन सक्नुपर्छ’ अनुभवी पाइलट दधिराम निरौला
भन्नुहुन्छ -’निर्णय लिन एक सेकेण्ड पनि ढिलो भयो भने दुर्घटनामा परिन्छ ।’
भौगोलिक विविधता र छिनछिनमै परिवर्तन
भैरहने मौसमले पनि उडानमा समस्या पर्ने गरेको पाइलटहरुको भनाई छ । खराबमा
मौसममा उडान भर्न नहुने नियमको अवज्ञा र उड्डयन सुरक्षाको निगरानी गर्ने
तथा नियम कानुन कार्यान्वयन गराउने निकाय सकृय नहुँदा पनि दुर्घटना बढेका
छन् ।
नेपालमा हवाइ दुर्घटनाको नालिबेली
सन् १९५५ को मार्च ८ मा पहिलोपटक बाराको
सिमरामा डकोटा जहाज दुर्घटना भएको थियो । तथ्याँक अनुसार त्यसयता सन् १९९०
सम्ममा १६ वटा हवाई दुर्घटना भए । त्यस अवधिमा एकसय ५४ जनाको मृत्यु भएको
थियो । त्यसपछि विमानको संख्या थपिएसँगै दुर्घटनाको क्रम पनि बढ्न थाल्यो ।
यस अवधिमा भयानक दुईवटा विमान दुर्घटना भएका छन् । २०४९ साल साउन २६ गते
रसुवाको घोप्टेभीरमा भएको थाई एयरवेजको बोइङ दुर्घटनामा एकसय १३ जनाको
ज्यान गएको थियो । यो भयानक दुर्घटना भएको दुई महिनापछि अशोज १२ गते
ललितपुरको भट्टेडाँडामा भएको पीआइएको बोइङ दुर्घटनामा एकसय ६७ जनाको ज्यान
गयो । नेपाली आकाशमा अहिलेसम्म भएका अन्तराष्ट्रिय हवाई दुर्घटना यी दुईवटा
मात्रै हुन् । नेपालमा सबैभन्दा धेरै ट्वीनअटर विमान दुर्घटना भएका छन् ।
१९७३ मा वायु सेवा निगमको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ६ जनाको
ज्या गयो । सन् १९९१ मा वायुसेवा निगमकै अर्को विमान लुक्लामै दुर्घटना
हुँदा १७ जनाको ज्यान गयो । नेपाल एयरलाइन्सकै अर्को विमान सन् १९९५ मा
काठमाडौंबाट रुम्जाटार जाने क्रममा धावनमार्गमै दुर्घटना हुँदा दुईजनाको
ज्यान गयो । सन् १९९९ मा नेकोन एयरको विमान काठमाडौंको पश्चिममा टेलिकमको
टावरमा टोक्किएर दुर्घटना हुँदा १५ जनाको ज्यान गयो । सन् २००४ मे २५ मा
यति एयरलाइन्सको विमान लुक्ला विमानस्थल पुग्ने क्रममा पहाडमा ठोक्किएर
दुर्घटना हुँदा तीनजनाको ज्यान गयो । २००४ कै अक्टोबर १ मा सीता एयरको
विमान लुक्ला विमानस्थलमै दुर्घटनामा पर्यो । लुक्ला विमानस्थलमै सन् २००५
को जुन ३० मा गोरखा एयरलाइन्सको विमान दुर्घटना भयो । यति एयरलाइन्सको
विमान लुक्लामै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । विक्रम संवत
२०६३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन मन्त्री
र संरक्षणविद सहित २४ जनाको ज्यान गयो ।
छानविन टोली गठन, प्रतिवेदन कहिल्यै कार्यान्वयन हुँदैन
सरकारले बुद्ध एयरको विमान दुर्घटनाबारे
छानविन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशकुमार दलीको
संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीलाई एक साताभित्र
दुर्घटनाबारे अध्ययन गरी विस्तृत विवरण बुझाउन भनिएको छ । विमान दुर्घटना
बित्तिकै त्यसको छानबीन गर्न समिति बनाउने परम्परा जस्तै भएको छ । समितिले
प्रतिवेदन बुझाउँदा हवाई सुरक्षाको लागि बिभिन्न सुझाब पनि प्रस्तुत गरेको
हुन्छ । ‘तर यी सुझाब कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको छ’ यसअघि
प्रायः छानबीन समितिमा बसिरहने उड्डयन चिकित्सक रञ्जित बरालले भन्नुभयो ।
छानबीन समितिले विमानको प्राविधिक पक्षमा सुधारसँगै उडान सुरक्षा र
अनुगमनको लागि ध्यान दिन आग्रह गर्ने गरेको छ । तर सम्बन्धित निकायले
बेवास्ता गर्दा कहालीलाग्दो हवाई दुर्घटना बढिरहेका छन् ।
प्रस्तुत समाचार ONLINE KHABAR .काम बाट साभार गरिएको हो ||
No comments:
Post a Comment