![]() |
फोटो~गुगल |
कुटनीति बालहठको लहडमा लिईने कुनै कदम
होइन या यो कसैको इच्छा, चाहना
पूर्तिका लागी लीइने कुनै सामान्य निर्णय हो वा बनाइने कुनै प्रणाली हो । यो त
अन्तराष्ट्रिय जगतमा सुमधुर र सन्तुलित सम्बन्ध स्थापना गर्दै, राष्ट्रिय सम्मान र
स्थान मजबुत बनाउंदै, आफ्नो राष्ट्रिय स्वार्थ र हितको संरक्षण र पूर्ति गर्ने एक
महत्वपूर्ण साधन हो । कुटनीतिको महत्व हिजो जति थियो आज अझै कयौं गुणा बढेको छ ।
बिभिन्न शक्ति केन्द्रको उदय, बिकास
र बिस्तार भइरहेको आजको अवस्थामा सबैसंग अनुकुल वातावरण, सम्बन्ध
बनाईराख्न पनि कुटनीतिको उत्तिकै महत्व छ भन्ने कुरा सायदै कसैबाट लुकेको नै छ ।
आज विश्व धुर्विकरणको एउटा नयाँ दौडबाट गुज्रिरहेको छ । आज
बिभिन्न कोणबाट आधुनिक शित युद्दको आरम्भ भइसकेको छ र यो बिभिन्न धुर्व बीच अनेकन
स्वस्थ-अस्वस्थ प्रतिस्पर्धाको शुरुवात भइसकेको छ । यस्तो अवस्थामा आफ्नो
राष्ट्रिय हित र अन्तराष्ट्रिय मंचमा आफ्नो दरिलो र सम्मानजनक उपस्थितिको लागि पनि
कुटनीतिको आवश्यकता अनिवार्य भएको छ । साथै यिनै रस्साकस्सी बीच विश्व पुन: भयावह
युद्दको भुमरीमा फस्न गए त्यो युद्दको चरम अतिक्रमणबाट आफुलाई बचाउन पनि कुनै पनि
राज्यले आज बढी बिश्वास गर्ने हतियार कुटनीति नै भएको छ ।
कुटनीति राजनीतिको आधार मात्र होइन, यो आजको विश्वमा बिकास-समृद्धिको एउटा
अचुक कडी पनि हो । कसैबाट लुकेको छैन भूमण्डलीकरणको आजको दौरमा एक गाउँको रुपमा
बिकसित हुँदै गएको बिश्वको आजको अवस्था । र यिनै अवस्था बीच बिकसित हुँदै गएको
नयाँ-नयाँ बैज्ञानिक क्रान्ति साथै बढ्दै गएको ब्यापार, अर्थतन्त्रको
जालोमा आफ्नो समुपस्थितिको लागी पनि एकले अर्कोलाई बिश्वास र आकर्षित गर्ने आधार
कुटनीति नै हो, जो व्यक्तिव्यक्ति बीच,
देशदेश बीच, जनताजनताबीच
हुँदै बिभिन्न रुपमा अघि बढिरहेको छ । यी सब कुराले कुटनीतिको बहुप्रयोग र महत्व
झल्काउँछ अझ बिकासको यात्रामा पछाडी परेका, विश्वमा बढ्दै गएको हतियारको
प्रतिस्पर्धाको होडबाजीमा प्रतिस्पर्धा गर्न नसक्ने, प्राकृतिक, राजनीतिक रुपमा
अत्यन्त चुनौतीपूर्ण स्थानमा रहेका मुलुकहरुको हकमा कुटनीति विश्व रंगमंचमा आफ्नो
स्थिति बतलाउने, आफ्नो सार्वभौमिक्ताको रक्षा गर्ने, बिकासका चौतर्फी बाटा खोल्ने
एउटा भरपर्दो साधन हो ।
नेपाल एक भूपरिबेष्ठित अतिकम बिकसित
मुलुक हो । यो दुई ठुला उदयमान अर्थतन्त्र भएको, आणविक हतियार सम्पन्न शक्तिशाली
देशहरुको बीचमा अवस्थित अत्यन्त ठुलो सामरिक महत्व भएको मुलुक हो । यहाँ जस्तो
सन्तुलित र सक्षम कुटनीतिको आवश्यकता सायदै अन्य काहीं होला । तिन तिरबाट भारत र
एकतर्फबाट चीनले घेरेको यो मुलुकको लागि यी दुई मुलुक भन्दा बाहिर आफ्नो छुट्टै
स्थान बनाउदै नयाँ क्षितिजहरुको सम्भावना खोज्न सहयोग गर्ने साधन नै कुटनीति हो
साथै यी दुई स्वार्थकेन्द्रित मुलुकहरुको आपसी प्रतिस्पर्धा बीच आफ्नो
सार्वभौमिकता, अखण्डताको रक्षा गर्दै यी ठुला मुलुकको बिकासको प्रतिफल आफ्नोमा
भित्राउन चाहिने एउटा प्रभावकारी साधन पनि कुटनीति हो । हामी दुई ठुला शक्ति
राष्ट्रको बिचमा हुनुको अर्थ यो पनि हो कि हामी माथी यी दुई ठुलाको मात्र होइन
पश्चिमा शक्तिराष्ट्रको पनि उत्तिकै चासो छ र त्यहि अनुरुपको सक्रियता रहेको छ ।
साँढेहरुको जुधाईमा आफु बाच्छा जस्तै नपिल्सिनुको खातिर यी सबैलाई बिश्वासको एउटा
सुत्रमा बाध्न पनि हाम्रो कुटिनीति सबल र सन्तुलित हुन जरुरी छ । त्यहि माथि
अस्थिर दक्षिण एसियामा नै "सार्क" को स्थापना गर्न तल्लिन भएर लागेको र
एक संस्थापक मुलुकको नाताले दक्षिण एसियमा आफ्नो मित्रवत सम्बन्धको स्थायित्व र अझ
नयाँ समय र सन्दर्भ अनुरुप सम्बन्धको आधार र दायरा बिकास गर्दै यस क्षेत्रमा भएको
समस्याको समाधान र यस क्षेत्रको विश्वमानचित्रमा उदयमान छबि बिकास गर्न र संगै
मुलुकको स्थान पनि दरिलो बनाउन सन्तुलित र सबल कुटिनीति हामीलाई अत्यावाश्यक नै छ
।
नेपाल एक स्वतन्त्र राष्ट्र हो जो सदैब
शान्ति र समृद्धि कै पक्षमा रह्यो र रहँदै आएको छ । विश्वयुद्ध जस्तो भयानक समयमा
पनि आफ्नो सन्तुलित ब्यबहार र सम्बन्धका कारण नेपालले बैरी कमाएन र
विश्वमानचित्रमा एउटा शान्ति क्षेत्रको रुपमा आफुलाई स्थापित गर्दै आएको कसैबाट
लुकेको छैन । आफ्नै दुई ठुला छिमेकीहरु चीन-भारत, भारत-पाकिस्तान बीच भएका
युद्धहरुमा पनि आफ्नो तटस्थ उपस्थिति राखेर र दुई छिमेकीहरुलाई शान्ति मार्फत नै
समस्याको समाधान गर्न अपिल गर्दै कसैको पक्षमा वा बिपक्षमा कुनै पनि कदम नलिएको वा
बक्तब्यबाजी नगरेको एउटा सम्मानित चिनारी र इतिहास हाम्रो छ । नेपाली कुटनितिको
आधुनिककालको शुरुवात मानिने राजा महेन्द्र साथै बि पी कोईरालाको शासनकाल देखिन अझ
नेपालले सुदृढरुपमा आफ्नो तटस्थ छबी विश्व जगतमा स्थापित गरेको पाइन्छ र नेपाल
आफ्नो निर्णय लिन सक्षम छ र नेपाल कसैको बिचार, सोचमा चल्दैन भन्ने प्रमाणित गरेको
पाईन्छ ।
तर आज आएर भने नेपालको आफ्नो तटस्थ छबी
हाम्रा केहि स्वार्थकेन्द्रित राजनीतिज्ञ, तिनका अदुदर्शी कदम, कुटीनीतिक
अपरीपक्वता र कुनै अमुख पात्रलाई रिझाउने होडबाजीले भने धुमिल बनाउने देखिन आएको छ
जसमा कर्मचारीतन्त्रको पनि उत्तिकै कमजोरी र अदुरदर्शीपन देखिन्छ ।
नेपालको तटस्थ छबी; आजको अवस्थामा विश्व
मन्चमा आफ्नो स्पष्ट अडान र सन्तुलित कुटनीतिको अभावमा छायामा पर्दै गएको देखिन्छ
। स्पष्ट र स्थायी बैदेशिक नीतिको अभाव र पार्टी पिच्छे र सत्तामा अनुहार फेरिए
पिच्छे फेरिने हाम्रो कुटनीतिक सोच र सम्बन्धको आधारले दिनानुदिन हाम्रो कुटनीति
खोक्रो हुँदै गएको छ । दक्षिण र उत्तरी छिमेकी बिचको सन्तुलन मिलाउन नसक्दा
बिश्वासको खडेरी उत्पन्न भइ आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप र चासो बढेको
साथै पश्चिमाहरुको चहलपहल र अप्रत्यक्ष शासन बढेको; बिभिन्न अवस्थामा पदाधिकारीको
नियुक्ति, कानुन निर्माण, संबिधान निर्माण, कार्यन्वयनमा परेको बाधा र अनावश्यक
चासोले पनि प्रष्ट पार्छ । कुनै सरकार आउँदा उत्तर प्रतिको झुकाव, कुनै आउँदा
दक्षिण प्रतिको झुकाव, आन्तरिक निर्णय गर्न पनि छिमेकीको दैलो चाहार्ने
प्रबृत्तिले एक त हरेक कुटनीतिक मर्यादाको धज्जी उडाएको छ नै साथै देशको
सार्वभौमसत्ता, अखण्डता, सहिष्णुता माथि नै डरलाग्दो बैदेशिक हस्तक्षेप र चलखेल
बढाएको छ जसले विश्व जगतमै नेपालको उपस्थितिलाई नगण्य र औपचारिक बनाइदिइएको छ ।
यस्तो अवस्थामा एउटा सुझबुझ पूर्ण सन्तुलित कुटनीतिको आवश्यकता परेको छ तर त्यो तर्फ
कोही पनि इमान्दारीका साथ लागेको देखिंदैन तर दिनानुदिन नयाँ नयाँ डरलाग्दा काम
हुँदै छन जसले आज मात्र होइन आउने पुस्ता सम्मलाई समस्या खडा पार्न सक्ने अवस्था
देखिन्छ ।
आज यो लेखिरहँदा दक्षिण एसिया
भारत-पाकिस्तानको आपसी टकरावका कारण अन्यौलग्रस्त गतिरोधमा फसेको छ । यी दुई देश
बिचको तनावले गर्दा "सार्क" सम्मेलन स्थगित भएको त छ नै देशहरु बिचको
आपसी सम्बन्धमा समेत चिसोपन आएको छ र कतै दक्षिण एसिया भारत-पाकिस्तान बिचको अर्को
युद्धको शिकार हुने त होइन भन्ने अन्योल स्थापना गरिदिएको छ । हाल दक्षिण एसियाली क्षेत्रीय
सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्र भएको नाताले दक्षिण एसियामा देखिएको यो
अन्योलताबाट सार्कलाई बचाई एउटा समन्वयकारी भूमिका खेल्न आजको हाम्रो दायित्व र
आवश्यकता थियो तर सार्कको स्थगन सहित यसले हाम्रो कुटनीतिक कमजोरी दर्साएको त छ नै
अझ केहि घण्टाको अन्तरालमा दुईवटा भिन्न वक्तव्य
निकालेर बर्षौ देखिन स्थापित हाम्रो तटस्थता, सार्क राष्ट्रसंगको मौलिक सम्बन्ध र
आफ्नो निर्णय आफै लिने परिपाटीलाई भत्काएर कमजोर तुलाईदिएको छ । बिभिन्न बिज्ञप्ति
मार्फत भारत-पाकिस्तान बिचको तनावमा भारतकै बोलि स्पष्ट झल्किने गरी नेपालको
परराष्ट्र मन्त्रालयले निकालेको बिज्ञप्तिले न समग्र नेपालीको प्रतिनिधित्व गर्छ न
नेपालको कुटनीतिक तटस्थता र सन्तुलनको ! यसले त भारत-पाकिस्तानको तनाव बीच
पाकिस्तानका उच्च अधिकारीहरुले "पाकिस्तानलाई भुटान-नेपाल जस्तो नठान्न"
भनि भारतलाई दिएको चुनौतिको आशयलाई थप मलजल गरेको छ र बर्षौं देखिन स्थापित एउटा
स्वतन्त्र राष्ट्र र यहाँका जनताको मानमर्दन गरेको छ ।
भारत-पाकिस्तान बिचको तनाव नौलो होइन । यो सबै यी दुई मुलुकको आपसी
आन्तरिक मामिला हो तर यसको असर "सार्क" जस्तो गरिमामय र धेरै जिम्मेवारी
भएको तर यिनै दुई ठुलाको अकर्मणयताको शिकार भएको संस्थामा पर्नुहुन्न भन्नका खातिर
अध्यक्ष राष्ट्रको हैसियतले वार्ता र समन्वयको अपिल गर्नु नेपालको कर्तब्य हुन
जान्छ र एक असल छिमेकीको हैसियतले यो गर्नु पनि ठिक हो तर आफ्नो दिर्घकालिन हित र
सम्बन्धको पर्वाह नै नगरी केहि राजनीतक दल, तिनका नेता र केहि कर्मचारीको सिमित
स्वार्थको खातिर भारतको बुई चडी देशलाई गलत दिशातर्फ मोड्नु किमार्थ स्वीकार्य
हुँदैन ।
नेपालको आफ्नै आवश्यकता छ र आफ्नो राष्ट्रिय हितको आफ्नै दायरा र चुनौती छ
। हामी ठुला सैनिक शक्ति राष्ट्र होइनौं न कुनै आणविक हतियार भएको शक्ति सम्पन्न
राष्ट्र नै हौँ न त हामी आर्थिक रुपले सम्पन्न र बिकसित नै छौं । हाम्रा धेरै
योजना छन, आन्तरिक थुप्रै चुनौती छन् जसको कार्यन्वयन र निरुपणको लागि हाम्रो एकल
प्रयासबाट सम्भव छैन र विश्व समाज प्रति नै भर पर्नु पर्ने हाम्रो बाध्यता छ ।
गरिबी, भोकमरी, बेरोजगारी जस्ता समस्या संग जुध्न होस्, बिकासका नयाँ ढोका खोल्न
होस् वा लगानी बढाउन होस्, हामी कुनै देशको मात्र भर पर्ने अवस्था छैन । यसको लागि
बहुपात्रहरुसंग सहकार्य गरेर अगाडी बढ्नु हाम्रो लागि चुनौती हो साथै बढ्दो
हतियारको होडबाजीबाट मुलुकलाई जोगाउन पनि सबै संग समान सम्बन्ध राखेर अगाडी
बढ्नुको बिकल्प छैन । कुनै ठुला शक्तिशाली मुलुकहरुको आपसी जुँगाको लडाइमा हाम्रा
कर्मचारी वा राजनीतिज्ञले देशलाई फसाउनु एउटा डरलाग्दो दुर्घटना तर्फ देशलाई
धकल्नु सिवाय अरु केहि हुँदैन । चीन-भारत-पाकिस्तान जस्ता नजिकका आणविक शक्ति
सम्पन्न छिमेकिहरुसंग सुमधुर र सन्तुलित सम्बन्ध त हाम्रो लागी अपरिहार्य नै हो
साथै विश्वका अन्य शक्तिशाली मुलुक होस् वा अन्य मुलुक, सबैसंग सन्तुलित सम्बन्ध राख्नु नै
हाम्रो आवश्यकता हो । कुनै एक राष्ट्र वा प्रष्ट रुपमा भन्दा भारत माथी मात्र भर पर्नु
हाम्रो लागि ठीक छैन भन्ने कुरा त बिभिन्न कालखण्डमा भोगेको र हालसालै भोगेको
नाकाबन्दीले पनि प्रमाणित गरेको छ तर आफ्नो निहित स्वार्थको लागि आफ्नो सुरक्षा र
कुटिनितिक छाता भित्र राख्ने र सके सिक्किमिकरण नसके भुटानीकरणको अघोषित तर प्रष्ट
देखिने नीति बोकेर नेपाललाई खेलाउन र चीन बिरुद्ध प्रयोग गर्न खोज्ने भारतीय
चक्रब्युमा सदैब फस्न खोज्नु चाहिं हाम्रा राजनीतिक नेतृत्व पंक्ति र
कर्मचारीतन्त्रको राष्ट्रघाती कदम नै हो ।
चीन, पाकिस्तान, भारत जस्ता नजिकका देश हुन् वा अमेरिका, युरोपियन युनीयन
जस्ता पश्चिमा शक्ति सबै विश्वमा आफ्नो प्रभुत्व स्थापना गर्न एकले अर्कालाई
एक्लाउने खेलमा लागिपरेका नै छन् । यस्तो अवस्थामा असंलग्न आन्दोलन र विश्व
शान्तिको एउटा अभिन्न अभियन्ताको रुपमा रहेको नेपाल, यिनीहरुको स्वार्थकेन्द्रित
कदमको हिस्सेदार नभई विश्व राजनीतिमा आफ्नो स्वतन्त्र बिचार राख्दै तथा आफ्नो
सन्तुलित छबि बचाउँदै यी शक्तिकेन्द्रहरुको आन्तरिक बिकासको फाइदा लिंदै समृद्धिको
बाटो तर्फ अगाडी बढे मात्र देश र जनताको भलो हुन्छ जसका लागी हामीले सदैव हामीलेले
स्वीकार्दै आएको असंलग्नता र तटस्थताको मन्त्र आत्मसात गर्दै सन्तुलित कुटनीति
अपनाउनु पर्दछ । तर आजको अवस्था र हाम्रा शासकहरुको अपरिपक्व कदमहरु हेर्दा भने
खतराको घन्टी बजिरहेको आभाष हुन्छ । आशा गरौँ यिनीहरुको घैंटोमा छिट्टै घाम लाग्ने
छ र हामी नागरिक पनि एउटा सजग कर्तब्यनिष्ठ नागरिक सरह यस्ता कदम बिरुद्ध आवाज
उठाउँदै, देशलाई बचाउन र भाबि पुस्तालाई पनि स्वतन्त्र नेपाल हस्तान्तरण गर्न
आजैबाट लाग्ने छौं र आशा छ सफल हुन्छौं । तर साबधान! बेला भने घट्कीसक्न आँट्यो !
नेपाल र नेपालीको जय होस् !!
२०७३/०६/१८
No comments:
Post a Comment