Saturday, October 24, 2015

उसकै लागी .......



तिमी आउँछौ, शब्दहरु छरेर जान्छौ
संगालेर बुझ्न त मलाई पर्छ
कति गाह्रो छ यहाँ, उस्तै रहन
सम्हालेर हाँस्न त मलाई पर्छ ।।

यसो गर्छु, उसो भएन भन्छौ
तिमी पहिले जस्तो रहेनौ भन्छौ
कहाँ फ़ेरिएछु, कस्तो फेरिएछु
आफ्नो अनभिज्ञता बुझ्न त मलाई पर्छ ।।

कति बुझ्न गाह्रो हो ति शब्द पनि
घुमाउरो पारामा धेरै भनेर जान्छौ
संधै नयाँ पिरलो थपेर जान्छौ
किन बुझ्दैनौ ?
अनिदो रात कटाउन त मलाई पर्छ ।।

२०७२/०७/०७ बिमोचन घिमिरे !!


Tuesday, October 20, 2015

मदेश; आधिकार, आन्दोलन र बर्तमान परिवेश


                                                             बिमोचन घिमिरे

मदेशले नपाएको मुलभूत अधिकार भनेको आत्मसम्मान हो ! कालो बर्ण देख्दैमा धोति, बिहारी, मदिशे भन्ने प्रबृत्तिले नै मदेशी समुदायमा आफु हेपिएको भावना जागृत गराएको जस्तो लाग्छ ! सामाजिक रुपमै विद्यमान यो समस्याले सरकारी कार्यशैलीमा पनि प्रभाव पार्‍यो र मदेशी समुदायलाई दोश्रो दर्जाको नागरिक सरह वा बिदेशी सरह हेर्ने क्रम बढ्यो ।

त्यो बिगत थियो तर अहिले समय बदलिएको छ; सामाजिक चेतना र आपसी सम्पर्क बढे संगै हिजो रहेको त्यो सोच बिस्तारै हट्दै गएको छ ।  नागरिक शिक्षा र चेतनाको स्तर निकै माथि पुगेको छ जसले गर्दा आज कसैलाई हेप्ने वा रुप, जात, लिङ्ग, बर्ण को आधारमा कसैलाई भिन्न ब्यबहार गर्ने प्रवृत्तिमा क्रमिक रुपले कमि आउंदैछ । राज्यले बनाउने योजना, कानुनहरुमा समेत बिभेदको अन्त्य र समान पहुँचको अवधारणाको बिकास भैरहेको छ र हुने क्रम अझै जारी नै छ । हालै जारी भएको नेपालको संबिधानले पनि समानता र विभेदको अन्त्य सहितको बहुधार्मिक, बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक राज्यको परिकल्पना गरेको छ । जात, धर्म, भाषा, लिङ्ग, बर्ण को आधारमा हुने भेदभाव अन्त्य गरी राज्यका हरेक अङ्ग, क्षेत्रमा समान अधिकार, पहुँचको परिकल्पना र ब्यबस्था यस संबिधानले गरेको छ । पिछडीएका समुदाय, क्षेत्र, लिङ्ग, बर्ग सबैलाई समान पहुँचको अधिकार प्रदान गरी समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिक्षितता गरेको छ यस संबिधानले । केहि मतभेद होला तर सारभूत रुपमा हेर्दा नेपालको संबिधानको भावना/मर्म कुनै पनि ढङ्ग वा बहानामा हुने विभेदको अन्त्य गर्दै समान, समावेशी, लोकतान्त्रिक, स्वतन्त्र राज्यको निर्माण नै रहेको देखिन्छ । 

विभेद एउटा सामाजिक रोग हो । समाजमा विद्यमान अशिक्षा, गरिबी, चेतनाको कमी नै विभेदको कारक तत्व हो । अशिक्षित समाज सदैब विभेदको शिकारमा पर्छ । जबसम्म समाजमा नागरिक चेतनाको स्तर निकै न्यून रहन्छ तबसम्म अधिकार/कर्तब्य, सामाजिक एकताको महत्व र यी पक्ष बीचको अन्तरसम्बन्धबारे जनमानसमा कुनै प्रकारको ज्ञान हुँदैन जसले गर्दा समाजमा जातीय, बर्गीय खाडल बढ्दै जान्छ र सामजिक विभेदको आयतन बढ्न जान्छ । नागरिक चेतनाको कमी संगै समाजका आर्थिक, सामाजिक, राजनीतिक क्रियाकलापमा नागरिक सहभागिताको आधारशिला तयार हुँदैन जसले गर्दा राज्यले प्रदान गर्ने सेवासुविधाको लाभ पाउनबाट सिङ्गो समाज नै बञ्चित हुन्छ र राज्य शक्तिमा व्यक्तिको पहुँच पनि शुन्य प्राय नै रहन जान्छ । तर जब जब समाजमा नागरिक चेतना बढ्दै जान्छ तब तब सहभागिता बढ्दै जान्छ र समाज आधुनिकता र बिकासको बाटो तर्फ लम्किन थाल्दछ । आहिले हामी पनि यहि मोडबाट गुज्रिरहेका छौं । बिभिन्न राजनीतिक आन्दोलन, युद्द संगै नेपाली समुदायमा चेतनाको लहर बढ्यो र बिभिन्न उथलपुथललाई पार गरी नेपाली समाज निरङ्कुश र सामन्ती युगको/सोचको क्रमिक रुपले अन्त्य गर्दै अगाडी बढिरहेको छ र यसैको फलस्वरूप देश समावेशी लोकतन्त्रको युगमा प्रवेश गरेको छ जसलाई एउटा आकार प्रदान गर्ने काम नेपालको संबिधानले गरेको छ ।

तर संबिधान जारी संगै तराईमदेश शान्त छैन, महिनौ लामो आन्दोलन, बन्दको शृखंला चलिरहेको छ, जसक्रममा मानवअधिकारको गम्भीर उल्लंघन हुनेगरी हत्या/हिंसाको कयौं दुखद घटनाहरु पनि घट्यो; जसले सिङ्गो समाज र देशमा नै साम्प्रदायिक बिखण्डनको सोच उब्जायो जुन आफैमा आत्मघाती र राष्ट्रघाती सोच हो र यो हुनु सभ्य समाज, देश र यहाँ बस्ने नागरिकहरुको लागि दुखद हो । यो आन्दोलन हुनुको मुख्य कारण बिगत देखिन रहेको हेपाह प्रवृति र यसले उब्जायो गहिरो सामाजिक अबिश्वाश नै हो । राजनीतिक स्वरूप लिंदै शुरु भएको यो आन्दोलन कहिले सामाजिक, कहिले क्षेत्रीय, कहिले साम्प्रदायिक र कहिले राष्ट्रिय रुप लिंदै समर्थन र बिरोधको स्वर संगै अघि बढिरहेको छ ।

Saturday, October 3, 2015

ओ साथी रे .......


"में गली या चौराहे पे ओ गीत नहीं गाता, नहीं ! बल्कि जब कबि उस खोए हुवे हमदर्द कि याद आती है , जब कबी जिन्दगि से मायुश हो जाता हुँ .ओ गीत गुन्गुनाया कर्ता हुँ "........................

यो गीतको शुरुवाती क्रममा अभिताभ बच्चनले बोलेको यो छोटो पंक्तिले रमेशलाई संधै छुन्छ । आजसम्म उसले यो गीत कतिपटक सुन्यो , उ आफैलाई पनि कुनै अन्दाज छैन होला तर जतिपटक उसले यो गीत सुन्यो , गीत भन्दा पहिले आउने यी शब्दहरुले नै उसलाई भित्रैबाट हल्लाएर गयो, त्यसपछि उसमा आउने आकस्मिक परिवर्तनबाट उ आज सम्म उम्केको कुनै रेकर्ड छैन । गीतमा यी शब्दहरु किन आए , कुन प्रसंगमा बोलीए त्यसको आफ्नै बिश्लेष्ण होला तर रमेशको लागी यो शब्द उसको वास्तविकताको एउटा अंश हो, जो हरेक समय यी शब्दहरुले ब्युझाइरहन्छ । यी शब्दहरु संगै उ हरेक पटक स्मृतिको एउटा यस्तो अविश्मरणीय कालखण्डमा पुग्छ जसबाट जती भागे पनि उ उम्किन सक्दैन ।

सास एक्कासी फुलेर आउँछ , आँखाहरु रसाउन थाल्छन, शरीर भरी एउटा अनौठो तरंगको संचार हुन्छ कताकताबाट चिसो हावाको झोकाले हानेको जस्तो जीउ शिरिङ्ग हुन्छ ..... त्यो दिन पनि यस्तै भएको थियो उसलाई जब उसले रमालाई भेटेको थियो; भिन्न परिवेश तर उही अवस्था ।

"रमा" यो नाम उसको मानसपटलमा उब्जने बित्तिकै रमेश अचेल मौनताको यस्तो सन्नाटा भित्र पुग्छ जसलाई उ आफै पनि कुनै शब्दमा व्याख्या गर्न सक्दैन । रमा को हो ? उसको रमेशको जीवनमा के अर्थ छ ? यी यावत प्रश्न सोध्ने/सोच्ने सबैलाई दिनसक्ने उत्तर रमेशसंग आज यहि मौनता नै छ; एउटा यस्तो मौनता जसले केहि बोल्दैन , केहि भन्दैन तर सबै थोक सुनाउछ तर बिरलै कोहि छन बुझ्ने ऊ बाहेक .....

आँखा रसाउछ; गह भरी मनका अनेक भावना संगालेर, उम्लिएका आवेग सेलाएर बनेको चिसो स्मृतिका तालहरु एक्कासी फुट्छन ति संगै उसका अनगिन्ती चिठीहरु, कविताहरु, गीतहरु कोरस मिलाउदै एउटा मिठो संगीतमा तिता-मिठा यथार्थहरुलाई चरितार्थ गर्दै गाउदै बग्छ्न ...........उ सुनिरहन्छ !!

तालीको ठुलो गड्गडाहटले रमेशको ध्यान भङ्ग हुन्छ .... गीत सक्किएछ !!!


०७२/०६/१६ 


ShareThis